आज छठ पर्वको तेस्रो दिन

| 2018 Nov 13 | 08:39 am 2382

काठमाडौं, कात्तिक २७ :  छठ पर्वको आज तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी हर्ष रउल्लासपूर्वक मनाइँदैछ । छठ पर्वको रौनक उपत्यकाका केहीस्थानहरुमा मनाइन्छ भने तराईका जिल्लाहरुमा विशेष प्राथमिकताका साथ मनाइन्छ अहिले सबै समुदायले यस पर्वलाई रुचाएको पाइन्छ ।
छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।

यस वर्षको छठको मुख्य दिन आज मंगलबार परेको छ साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न गरिन्छ ।

यो पर्वको ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको विश्वास गरिन्छ ।

विश्व संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित भएकाले तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन नसक्ने र सूर्य किरणको चिकित्सामाथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौं असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत भएको छ ।

साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षी दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आरधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने विश्वास छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने पनि जनविश्वास रहेको छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

यस्तै छठ पर्वका लागि राजधानीको मुख्यस्थानहरु गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत वाग्मती, बल्खु, नख्खु र विष्णुमतीलगायत नदी किनारमा झकिझकाउकासाथ सजावट गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.