आज एमाले एकता घोषणा

रिपोर्ट नेपाल | 2021 Jul 11 | 07:45 am 1749

काठमाडौं, असार २७ः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ गठित कार्यदल सदस्यले आज आइतबार एकता घोषणा हुने बताएका छन् । सिंहदरबारमा शनिबार लामो छलफलमा बसेका कार्यदल सदस्यले प्रायः सबै विषयमा सहमति भइसकेकाले आजै अन्तिम रूप दिइने बताएका हुन् ।

एमाले सचिव तथा कार्यदल सदस्य गोकर्ण विष्ट कार्यदलले प्रायः विषयमा सहमति जुटाइसकेकाले आइतबार एकता घोषणा हुने बताउँछन् । ‘आइतबार एमाले एकता घोषणा गरेर आमकार्यकर्तालाई सुखद अनुभूति दिने छौं,’ एमाले सचिव विष्टले सञ्चारकर्मीसँग भने, ‘हाम्रो लामो समयसम्मको छलफल र संवादका कारण एमाले अब एकजुट हुने विश्वास गरेका छौं ।’ कार्यदलले शनिबार नै एकता घोषणा गर्ने तयारी गरेको थियो । तर, केही प्राविधिक विषयमा छलफल गर्नुपर्ने भएकाले एकता घोषणा सहमतिसहित कार्यदल बैठक सकिएको हो ।

कार्यदलतर्फ माधवकुमार नेपाल पक्ष संयोजक तथा एमाले उपाध्यक्ष भीम रावलले अब एमाले एकजुट हुने दाबी गरे । धेरै विषयमा सहमति भइसकेको बताउँदै उनले त्यसलाई छिट्टै मूर्त रूप दिइने प्रस्ट पारे । ‘अब आमकार्यकर्ताको भावनाअनुसार एमाले एकजुट भएर अघि बढ्छ,’ रावलले भने ।

स्रोतका अनुसार कार्यदलले शनिबार नै पूर्ण रूपमा सहमति खोजेर एकता घोषणा तयारी गरे पनि अन्तिम अवस्थामा आएर त्यसो हुन सकेन । यद्यपि, कार्यदल सदस्य तथा एमाले सचिव विष्टले आज आइतबार घोषणा भई सुखद समाचार प्रसारण हुने बताएपछि आमकार्यकर्ता विश्वस्त देखिएका छन् ।

औपचारिक र अनौपचारिक रूपमा हामीले धेरै विषय मिलाइसकेका छौं, केही मिल्न बाँकी विषयमा समेत सहमतिनजिक नै छौं, विष्टले भने, ‘समाधान खोज्ने बिन्दुमा पुगेका छौं । आजै सुखद समाचार घोषणा गर्न सकेनौं । तर, आइतबार एकताको सुखद समाचार सुन्नुहुनेछ ।’ एमाले नेता एवं अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट कार्यदल संयोजक सुवासचन्द्र नेम्वाङले आज आइतबार एमाले एकता टुंगोमा पुग्ने दावी गरे । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.