आजदेखि सुरु हुँदै बिस्केट जात्रा

रिपोर्ट नेपाल | 2021 Apr 10 | 08:22 am 2441

भक्तपुर, चैत २८ः भक्तपुरमा बिस्काः (बिस्केट) जात्रा शनिबारदेखि सुरु हुँदैछ । कोरोना सङ्क्रमण हुने खतरा भएको भन्दै औपचारिक पूजामा सीमित गर्ने भनिए पनि सर्वोच्च अदालतको आदेशपछि रथ तानेर नै मनाइँदैछ तर भीडभाड नगरी स्वास्थ्य मापदण्ड पालनाका साथ जात्रा मनाइने छ ।

आठ रात नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक बिस्काः जात्रा वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । शनिबार भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिने छ । भैरवनाथको रथ टौमढीबाट पूर्वमा बुलुबुलु हिटी (सुकुलढोका) र पश्चिममा नासमनासम्म मात्र लैजान पाइने तथा तोकिएका आवश्यक व्यक्तिबाहेक अन्यलाई रथमा चढ्न रोक लगाइने भएको छ ।
गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्यले बिहान ५ बजे भैरवनाथको महास्नान पूजा र ५ः३० बजे नित्य पूजा सम्पन्न गर्ने जानकारी दिँदै बिहान ६ बजेदेखि ८ बजेसम्ममा स्थानीय टोलवासीले पूजा सम्पन्न गर्नुपर्ने नियम बनाइएको बताए ।

तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडा शैलीमा बनाइएको भैरव र भद्रकालीको रथ ३५ फिट अग्लो एवं तीन तले छ । यो रथमा करिब १० फिट अग्ला चारवटा काठेपाङ्ग्रा छन् ।

बिस्काः अर्थात् ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा यो जात्रा मनाइन्छ । जात्रामा भैरवको रथलाई टैमढीबाट भक्तपुरको माथिल्लो र तल्लो भेगका बासिन्दाले आआफ्नो क्षेत्रमा लैजानका लागि तान्ने परम्परा छ । लिच्छविकालदेखि सुरु भएको यो जात्रा वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु गर्ने प्रचलन छ । जात्रा नयाँ वर्षको चार दिनपछिसम्म अर्थात् आठ रात नौ दिन मनाउने प्रचलन छ । यो जात्रा सुरु भैरवनाथको रथ तानेर सुरु हुन्छ भने समापन पनि यही भैरवनाथको रथ तानेरै गरिन्छ ।

संस्कृतविद् ओम धौभडेलले जात्रामा भैरवनाथको रथमा भैरवनाथको मूल देवता तथा बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथलाई तानेर लैजाने परम्परा रहेको जानकारी दिए । उनका अनुसार बिस्केट जात्रामा नौ दिनसम्म विभिन्न जात्रा हुने भए पनि मुख्य गरी सुरुको दिन तौमढीमा रथ तान्ने, चैत मसान्तमा ल्यासिंखेलमा इन्द्रध्वजासहितको लिङ्गो उठाउने, वैशाख १ गते दिनभर लिङ्गो जात्रा गरी साँझ लिङ्गो ढाल्ने र वैशाख ५ गते टौमढीमा भैरवको रथ तानेर मनाउने गरिन्छ ।

जात्रा वैशाख ५ गते भैरवको रथलाई तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गर्ने परम्परा रहेको छ ।

जिब्रो छेडिँदै
थिमिको बोडेमा मनाइने जिब्रो छेड्ने प्रसिद्ध जात्रामा यसपटक पनि बुद्धकृष्ण वाग श्रेष्ठले नै जिब्रो छेडाउने भएको छ । यो उनको आठौँपटक हो ।

मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले यसपटक पनि ४८ वर्षीय श्रेष्ठले जिब्रो छेडाउनने जानकारी दिए । यो जात्रा वैशाख २ गते पर्छ ।

नगरपालिकाले जात्राका लागि आर्थिक सहयोग पनि गर्ने निर्णय गरेको छ । थिमिको सिन्दूरे जात्रा र महालक्ष्मी स्थानमा लिङ्गो ठड्याउने जात्रासँगै यो जात्राको पनि महत्व छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.