काठमाडौँ, भदौ २३ : सुन्दर यातायातले आज (सोमबार)देखि बिजुलीबाट चल्ने बस सञ्चालनमा ल्याएको छ । काठमाडौँ उपत्यकामा चल्ने उक्त बसको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका छन् ।
बिजुली बस निजी क्षेत्रबाट याे पहिलो पटक गुडेकाे हाे । सरकारले २०७५ कात्तिक ६ गते बिजुली बस सञ्चालन गरेको थियो तर उद्घाटन भएको एक वर्ष पुग्दा पनि सञ्चालनमा आउन सकेको छैन । योभन्दा अघि बिजुलीबाट चल्ने बस सरकारी स्वामित्वको ट्रली बस थियो । अहिले ट्रली बस बन्द भएको एक दशकभन्दा बढी भइसकेको छ ।

बिजुली बसको उद्घाटन गर्दै मन्त्री पोखरेल विद्युतीय बसको प्रयोगले वातावरण संरक्षणमा टेवा पुग्ने उल्लेख गरे । यस्ता काम गर्दा धेरै कठिनाइहरू आइपर्ने बताउँदै मन्त्री पोखरेलले भने, ‘यसका सञ्चालकहरुले पनि धेरै कठिनाइहरू भोगेको होलान्, संस्था जन्माउनु ठूलो कुरो होइन, यसलाई निरन्तरता दिन ठूलो कुरो हो ।’
सञ्चालनका क्रममा विभिन्न कठिनाईहरु आइपरे सुन्दर यातायातलाई सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि मन्त्रि पाेखरेलले जनाए । उनले भने, ‘निरन्तरता दिने क्रममा कुनै कठिनाइ आइपरे भने सुन्दर यातायातलाई पूर्ण सहयोग गर्न सरकार तयार छ ।’

विद्युतीय बस सेवाको उद्घाटनपछि मन्त्री पाेखरेल, कार्यक्रमका अतिथिहरु, सरकारका पदाधिकारीहरू, नेपाल प्रहरीका आइजिपी र सशस्त्र प्रहरीका आइजिपी त्यही गाडी चढेर रत्नपार्क एक फन्काे लगाएका थिए ।
वायु प्रदूषण र ध्वनि प्रदूषणले आहत बनाइरहेको काठमाडौँमा बिजुली बसले केही राहत मिल्ने सुन्दर यातायातको विश्वास छ । बस नेपालको सडक मैत्री रहेको दाबी समेत कम्पनीले गरेको छ ।
बसमा के-के छन् सुविधाहरू ?
सुन्दर यातायातका अनुसार बस ४० सिटे र ३५ सिटे गरी दुई प्रकारको छ । ४० सिटे बसमा ४० जनाले बसेर यात्रा गर्न सक्नेछन् भने ३० जनाले उभिए यात्रा गर्न मिल्ने बताइएको छ । त्यस्तै ३० सिटे बसमा ३० जनाले बसेर र २५ जनाले उभिएर यात्रा गर्न सक्ने सुन्दर यातायातले जनाएको छ ।

कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने बताएको छ । सुन्दर यातायातले अघिल्लो हप्ता काठमाडौँको भत्केको पुलमा चार्जिङ स्टेसन पनि सञ्चालन ल्याइसेकेको छ ।
बसमा यात्रुको चाप नहुने भागमा आरक्षण सिट राखिएको छ । बसमा सिसी क्यामेराको, जीपीएस ट्रयाकिङ, एयरकण्डिसनको सुविधा पनि छ, यसले यात्रुमैत्री बनाउने सुन्दर यातायातले जनाएको छ ।
त्यस्तै उभिएका यात्रुलाई सहजरुपमा समात्नको लागि प्रयोग गरिएको ह्याङ्गर नरम र लचकदार हुँदा जुनसुकै उमेरका र उचाइका यात्रुलाई यात्रा गर्दा थप सहज हुने कम्पनीको दाबी छ । साथै कम्पनीले फोहोर व्यवस्थापनका लागि बसको सिटसँगै डस्टबिनको पनि व्यवस्था गरेको छ ।
नगदरहित भुक्तानीका लागि सुन्दर यातायातले ‘काठमाडौँ सुन्दर कार्ड’ प्रयोगमा ल्याउँदै छ। यो कार्ड २ सय १५ रुपैयाँमा खरिद गर्न सकिन्छ । त्यसमा २ सय ६५ रुपैयाँ ब्यालेन्स हुने छ। यो बाहेक विद्यार्थी, अपाङ्ग, वृद्धको लागि पनि छुट कार्ड हुने सुन्दर यातायातले जनाएको छ ।
यस्तो छ रुट
सुन्दर यातायातका विद्युतीय बस पहिलो चरणमा ५ रुटमा गुड्ने छन् । पहिलो रुटमा बसहरूले चक्रपथ परिक्रमा गर्नेछन् । दोस्रो रुटमा नारायणथान, जावलाखेल–मेडिसिटी अस्पताल पुग्नेछन् ।

तेस्रो रुटमा गोगंवु–सामाखुसी–गौशला–कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछन् । चौथो रुट अन्तर्गत ढुंगेअड्डा–कलंकी–त्रीपुरेश्वर–वीर अस्पताल–जमल–कृष्णपाउरोटी–रातोपुल–गौशला–चावहिल–बौद्ध–जोरपाटीस्थित अत्तरखेलसम्म पुग्नेछन् ।
त्यसै गरी अन्तिम रुट सूर्यविनायक–कोटेश्वर–बानेश्वर–वीरअस्पताल र जमल रहेको छ ।