आचारसंहितामा कांग्रेस असन्तुष्टि

रिपोर्ट नेपाल | 2022 Sep 28 | 07:35 am 1213

काठमाडौं, असाेज १२ः प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचन आयोगले लागू गर्ने निर्णय गरेको निर्वाचन आचारसंहिता २०७९ प्रति असन्तुष्टि जनाएको छ । कांग्रेसले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै निर्वाचन आचारसंहितामा प्रधानमन्त्री र मन्त्रीलाई चुनावी प्रचारमा जान रोक लगाइएकोप्रति आपत्ति जनाएको हो ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले ‘प्रधानमन्त्री र मन्त्रीलाई चुनावी प्रचारप्रसारमा रोक लगाइन’ नहुने भन्दै आचारसंहिताप्रति आपत्ति जनाए । ‘अव्यावहारिक आचारसंहिता आयोगले सच्याउनुपर्ने’ उनको माग छ ।

‘गठबन्धनका दल र प्रतिपक्षी दलले समेत प्रधानमन्त्री र मन्त्रीले प्रचारमा जान नपाउने प्रावधान व्यावहारिक भएन भनिरहेका छन्, प्रधानमन्त्री देशको कार्यकारी प्रमुख भएकाले दैनिक भ्रमण स्वाभाविक हुन्छ, अव्यावहारिक आचारसंहिता आयोगले सच्याउनुपर्छ,’ पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता महतले भने ।

उनले प्रधानमन्त्री र मन्त्री पार्टीको जिम्मेवार पदमा पनि रहेकाले निर्वाचनमा पार्टीका पक्षमा जनमत बनाउन हिँड्नु स्वाभाविक भएको बताए । आयोगले अन्तर्राष्ट्रिय अभ्याससमेत हेरेर निर्वाचन सो व्यवस्था हेरफेर गर्नुपर्ने उनको धारणा छ ।

महतका अनुसार आयोगले निर्धारण गरेको निर्वाचन कार्यक्रम तालिकाअनुसार मतदाता नामावली सार्वजनिक गर्ने, निर्वाचनका लागि दल दर्ता र प्रतिनिधिसभा तथा प्रदेशसभातर्फको समानुपातिक निर्वाचन पद्दतिका लागि हुने निर्वाचन तयारीका लागि बन्द सूची पेस गर्ने कार्य पार्टीले सम्पन्न गरिसकेको छ । समानुपातिक बन्दसूचीमा भएका त्रुटि आयोगले तोकेको समयभित्रै परिमार्जन गरिनेसमेत उनले स्पष्ट पारे । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.