आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुने र ५ लाख रोजगारी थपिने छ : राष्ट्रपति

| 2019 May 03 | 05:32 pm 1513

काठमाडौं, वैशाख २० :  आउँदो आर्थिक वर्षमा पाँच लाख रोजगारी सिर्जना हुने राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन्। संसदमा सरकारका तर्फबाट २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले  आउँदो आर्थिक वर्षमा पाँच लाख रोजगारी सिर्जना हुने बताएकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष इतिहासकै तिब्र आर्थिक विकासको वर्ष हुने पनि बताएकी छन्। हरेक दिन एक कदम अघि बढ्ने सरकारको नीतिअनुसार जनतामा उत्साह छाएको बताइन्। मावनीय क्षमता विकास, राष्ट्रिय सम्पति निर्माण, विधिको शासनलगायतका विषयलाई नीति तथा कार्यक्रममा प्रथमिकतामा राखेको छ। लामो समयदेखि अधुरो रहेका राष्ट्रिय गौरवका योजना समयमै पूरा गरिने लक्ष्य राखिएको छ।

चीनको राजकीय भ्रमणले चीनसँगको सम्बन्ध सुमधुर भएको दाबी गर्दै राष्ट्रपति भण्डारीले यो भ्रमणले चीनका समुन्द्री र सुख्खा बन्दरगाहा प्रयोग गर्दै व्यापार गर्ने बाटो खुलेको उल्लेख गरिन्। सरकारले अघि सारेको स्वास्थ्य बिमा अन्तर्गत १६ लाख नेपालीले बिमा गरिसकेको राष्ट्रपतिको भनाइ छ। पछिल्लो वर्ष प्रमुख आद्यान्न बालीको उत्पादनमा १० प्रतिशत वृद्धि भएको उनको दाबी छ। सरकारको पहल र योजना अनुसार नै भूकम्पपछि बन्द भएको तातोपानी नाका र सुख्खा बन्दरगाह यसै वर्ष सञ्चालन हुने राष्ट्रपतिको भनाइ छ।

गौतम बुद्ध विमानस्थल सन् २०१९ र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सन् २०२१ भित्र सञ्चालनमा ल्याइने भएको छ। निजगढ विमानस्थलको निर्माणकार्य शीघ्र गरिने भण्डारीले बताइन्। त्रिभुवन विमानस्थललाई २४ सै घण्टा सुचारु गर्दै वुटिक विमानस्थल बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ। ग्रमीण क्षेत्रका विमानस्थलको स्तरोन्तति गरिने समेत राष्ट्रपतिले बताइन्। उनले पोखरा विमानस्थलको ४० प्रतिशत काम सम्पन्न भएको बताइन्।

राष्ट्रपति भण्डारीले देशमा पृथकतावाद र हिंसाको राजनीति अन्त्य भएको बताइन्। अन्तराष्ट्रिय जगतमा नेपाल प्रतिको आकर्षण बढेको नीति तथा कार्यक्रममा उल्लेख छ। लगानी सम्मेलनमा लगानीका महत्वपूर्ण सम्झौता हुनुले लगानीको लागि नेपाल उर्वर भूमि रहेको दाबी गरिएको छ।

समुन्द्रमा नेपालको झण्डासहित पानी जहाज, रेलमार्ग, पहाडमा सुरुङ मार्फत यातायात, आफ्नै स्याटलाइट मार्फत सूचना प्रवाहका सोचहरु यथार्थमा परिणत हुँदै भएको सरकारको भनाइ छ। रेलमार्ग निर्माणको लागि प्रविधिक अध्ययन सम्पन्न भइसकेको छ।

अवको आर्थिक वर्षमा तीन सय पुलको निर्माण गरिने भएको छ। आवास योजना अन्तर्गत ८ हजार आवास एकाइ निर्माण गरि विपन्न जनतालाई आवास उपलव्ध गराइएको राष्ट्रपतिले बताइन्।

जापान र मलेसियासँग श्रम सम्झौता नेपाली मजदुरको हितमा भएको उल्लेख छ। जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य विमा गर्न सुरु गरिएको छ। यो वर्ष पर्यटन आगमनमा ३३ प्रतिशतले वृद्धि भएको सरकारले बताएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.