बागलुङ, वैशाख ७: जिल्लाको पश्चिम निसीखोलास्थित एक गोठमा आगलागी हुँदा एक बालकको ज्यान गएको छ। निसीखोला गाउँपालिका वडा नम्बर–२ छरछरेमा स्थानीय बिमल सुनारको गोठमा शनिबार आगलागी हुँदा उनका ३ वर्षीया छोरा विशाल सुनारको जलेर ज्यान गएको हो।
उक्त गोठमा स–साना बालबालिका मात्रै हुँदा अचानक आगलागीबाट घटना भएको निसीखोला गाउँपालिका वडा नम्बर–२ का अध्यक्ष कुवीर विकले जानकारी दिए।
आगलागीबाट मानवीय क्षतिसहित करिब तीन लाख बराबरको क्षति भएको अध्यक्ष विकले बताए।
स्थानीयको प्रयासमा आगोलाई नियन्त्रणमा लिएका छन्। घटना भए लगत्तै इलाका प्रहरी कार्यालय झिवाखोलाको प्रहरी टोली घटनास्थल पुगेर थप अनुसन्धान सुरु गरेको बुझिएको छ ।