स्याङ्जा, फागुन ३०: जिल्लाको कालीगण्डकी गाँउपालिका ५ बाँसटारीमा आगलागीभएको छ । आगलागीबाट तीन घर ६ गोठ जलेर नष्ट भएको छ ।
उक्त आगलाी स्थानीय नेत्रप्रसाद न्यौपानेको गोठबाट सल्किएको प्रहरीले जानकारी दिएको हो ।
आगलागीबाट २३ लाख १३ हजार रुपैयाँ बराबरको प्रारम्भिक क्षतिको विवरण सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ९डीएसपी० नविन कृष्ण भण्डारीले जानकारी दिए।
नेत्रप्रसाद न्यौपानेको गोठमा कुडो पकाउनको लागि बालिएको आगो गोठमा सल्किएर अन्यत्र फैलिएकाले ठूलो क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीमा नेत्रप्रसाद न्यौपानेको एउटा गोठ तथा एउटा कटेरो जलेको छ भने दुई वटा भैँसी जलेर मरेका छन् । आगलागीबाट छिमेकी तोलाकान्त न्यौपानेको टिनले छाएको गोठ जलेको छ भने दुई भैँसी घाइते भएका छन् ।
यसैगरी सन्तोष पाण्डेको दुई वटा कच्ची घर तथा एउटा कटेरो जलेको प्रहरीले जनाएको छ । आगलागीमा ताराप्रसाद न्यौपानेको गोठ र कटेरो जलेको छ भने रामप्रसाद न्यौपानेको घर आंशिक रूपमा जलेको छ ।
प्रहरी, बेल्टारी आर्मी क्याम्पबाट खटिएका नेपाली सेना तथा स्थानीबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगो लागेको सूचनापाउनासाथ वालिङबाट दमकलसहितको १५ जना प्रहरीको टोली घटनास्थलमा पठाएका हौँ, वडा प्रहरी कार्यालय वालिङका प्रमुख, प्रहरी निरीक्षक निरन्जन घिमिरेले बताए ।