सर्लाही, चैत्र २१ : सदरमुकाम मलंगवा–१० स्थित गए राति आगलगी हुँदा पाँचवटा पसल जलेर नष्ट भएका छन् । उक्त आगलगीबाट करिब ६० लाख बराबरको क्षति भएको पीडित व्यापारीले दावी गरेका छन् ।
मध्यरातमा भएको आगलगीबाट राजनारायण ठाकुर र प्रमोद ठाकुरको फर्निचर उद्योग, हुसैनी मुकेरीको सिरक–डसना बनाउने पसल र त्यसमा रहेको मेसिन, राम किसुन पण्डितको किराना पसल, पिन्टु यादवको फ्याक्स प्रिन्ट बनाउने समान र शम्भु ठाकुरको शैलुन जलेर नष्ट भएको प्रहरीले जानकारी दिए ।
रातिको समय सबैजना सुतिरहेको अवस्थामा फर्निचर पछाडि रहेको शंकर गुप्ताको बाख्रा बाँध्ने गोठमा लामखुट्टे धपाउनका लागि बालिएको घुरबाट आगो सल्किएको प्रहरीले बताएका छन् ।
आगलगीले धेरै धनमाल नष्ट गरी सकेपछि मात्रै बिहान करिब १ बजे स्थानीयबासीले थाहा पाएका बताए । आगलगीमा राजनारायणको २५ लाख, प्रमोदको १५ लाख मुकेरीको ४ लाख, रामकिशुनको १० लाख, शम्भुको २ लाख ५० हजार र पिन्टुको ३ लाख बराबरको क्षति भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।