आईसीपीलाई रेलमार्गसम्म जोड्न माग

रिपोर्ट नेपाल | 2022 Feb 03 | 08:10 am 1437

विराटनगर, माघ २०ः भारतको रेल–स्टेसन बथनाहा र विराटनगरको आईसीपीलाई रेलमार्गले जोड्न सरकारी पहल गरिदिन विराटनगरका उद्योगी–व्यवसायीले माग गरेका छन् । कोलकाता बन्दरगाहबाट छुटेको कार्गोरेल विराटनगर भन्सार यार्डसम्म ल्याउन सरकारी चासो आवश्यक रहेको भन्दै उद्योगी–व्यवसायीले यथाशीघ्र पहल बढाउन सरकारसँग माग गरेका हुन् ।

मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले विराटनगरको आईसीपीसम्म रेलमार्ग आइपुगेको अवस्थामा भारतीय पक्षले यार्ड निर्माण अन्तिम चरणमा पुर्याएको भन्दै अब कुटनीतिक पहल आवश्यक रहेको बताउनुभयो । उद्योगी–व्यवसायीले निर्माणस्थलको अनुगमन गरेर निर्माण पक्षसँग बुधबार संवादसमेत गरेका छन् ।

अध्यक्ष रिजालले भारतीय रेल–वे विभागले भारतको बथनाहादेखि विराटनगरको आईसीपीसम्मको रेलमार्गको सफल परीक्षण गरिसकेकाले सशक्त कूटनीतिक पहल भएमा आईसीपीसम्म कार्गोरेल ल्याउन सकिने विश्वास व्यक्त गरे । रिजालले आईसीपीमा कन्टेनर लोडअनलोडका लागि नेपाल पक्षले केही खाली ठाउँमा माटो भर्ने कामबाहेक भारतीय पक्षले काम अन्तिम चरणमा पुर्याएको बताए।

भारतीय पक्षले आईसीपी नजिकको रेल स्टेसनमा आगामी मार्चभित्र पक्की यार्डको निर्माण गरिसक्ने जानकारी उद्योगी–व्यवसायीको टोलीलाई गराएको छ । अप्रिलको अन्त्यसम्ममा त्यहाँ कार्गो रेल ल्याउन सकिने अवस्था बन्ने भएकाले सरकारी पहल आवश्यक रहेको उद्योगीहरूको भनाइ छ ।

सङ्घका वरिष्ठ उपाध्यक्ष अनुपम राठीले भौतिक योजना मन्त्रालय, वाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, रेल विभागलगायतका निकायमा सङ्घको टोली रेलमार्ग सञ्चालनका लागि आग्रह गर्ने बताए । विराटनगरको आईसीपीसम्म कार्गो रेल ल्याउन भारतको रेल विभाग पनि सकारात्मक रहेको देखिन्छ, उपाध्यक्ष राठीले भन्नुभयो, दह्रो कूटनीतिक प्रयास नेपालले गर्नुपर्ने हुन्छ । भारतको मिरगञ्ज पुल क्षतिग्रस्त बनेपछि ढुवानीमा समस्या बेहोर्दै आएका उद्योगीहरूले कार्गो रेल सोझै विराटनगर आउन सके सबै झन्झट अन्त्य हुने विश्वास गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.