काठमाडौं फागुन १५: आईपीओ हेर्नका लागि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले छुट्टै वेबसाइट सार्वजनिक गरेको छ । निष्कासन भएका धितोपत्रको बाँडफाँडको नतिजा सम्बन्धित निष्कासनकर्ता कम्पनी र निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइटमा राख्ने व्यवस्था पहिले देखिनै कार्यान्वयन गरिएको छ। नतिजा हेर्न फरक फरक वेबसाइट चहार्नुपर्ने बाध्यताको अन्त्य गर्दै लगानीकर्ताको डेटा सुरक्षित राख्ने उद्देश्यका साथ यस्तो व्यवस्था गरिएको हो ।
धितोपत्र निष्कासन भएका धितोपत्रको बाँडफाँडको नतिजा हेर्ने सहजताका लागि छुट्टै वेब पोर्टल सञ्चालनमा ल्याइएको हो । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँडको नतिजा उक्त कम्पनी तथा सार्वजनिक निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई बैंक लिमिटेडको वेबासाइटमा राखिएको थियो ।
धितोपत्रको बाँडफाँडको नतिजा बाँडफाँड सम्पन्न हुने वित्तिकै सहज रुपमा हेर्न सक्नेछन् । उक्त पोर्टलमा हाल महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बाँडफाँडको नतिजा समेत अपलोड भइसकेको छ । सार्वजनिक निष्कासनको नतिजा मात्र राखिने उक्त पोर्टल सुरक्षित, छरितो तथा धेरै लगानीकर्ताले एकसाथ प्रयोग गर्दा समेत सहज रुपमा सञ्चालन हुने गरी उच्च क्षमतामा तयार पारिएको सीडीएससीले जनाएको छ ।
आईपीओरिजल्ट डट सीडीएससी डट कम डट एनपीमा गएर आफ्नो नतिजा हेर्न सकिनेछ । बाँडफाँड हेर्ने लगानीकर्ताको चापका कारण मेरो शेयरमा समस्या आएपछि ईडीआईएस सेवा प्रभावित भएको छ ।