सोलुखुम्बु, १६ असोज : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी विश्वकै उत्कृष्ट प्रहरी बन्न सक्ने सम्भावना रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा खनालले उक्त कुरा बताएका हुन् ।
आइजीपी खनालले भने, ‘‘नेपाल प्रहरी विश्वकै उत्कृष्ट प्रहरी बन्न सक्ने सम्भावना छ । यसका लागि प्रहरी कर्मचारीहरूले इमान्दारिता र आचरणमा अझै सुधार गर्नुपर्छ । प्रहरी कर्मचारी आफैँ कुनै पनि घटनाको कारक बन्नु हुँदैन ।’’
प्रहरी कर्मचारीहरू देश र नागरिकको सेवक भएकाले उनीहरूकै सुरक्षाका लागि हर हमेसा कटिबद्ध भई निस्वार्थ सेवा प्रदान गर्न पनि खनालले निर्देशन दिए ।
कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपराज रेग्मीले मुलुकको नयाँ संघीय संरचनासँगै उर्लेका अपेक्षा र आकांक्षालाई पूरा गर्न शान्ति, समृद्धि र विकासमा जोड दिनुपर्ने उल्लेख गर्दै यसका लागि सुशासनको आवश्यकता पर्ने बताए ।
सुशासन कायम गर्ने क्रममा प्रहरी, सरोकारवाला निकाय र जनता ऐक्यबद्ध भएर लाग्नु अपरिहार्य रहेको उनको भनाइ थियो ।