अछाम, बैशाख १९ः सुदुरपश्चिम प्रदेशकाे पहाडी इलाका अछामको जिल्ला अस्पतालमा रहेकाे आइसोलेसन वार्डमा उपचाररत एक महिलाको बिहीबार मृत्यु भएको छ ।
मृत्यु हुनेमा मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीया देवु विक रहेकी जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएकाे हाे ।
उनीलाई अचानक उच्च ज्वरो आएपछि यही वैशाख १५ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले बताए ।
उनका भनाई अनुसार उच्च ज्वरो आएपछि उनलाई आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरेका थियौँ, उनको कोरोनाको आरडिटी परीक्षणको रिपोर्ट नेगेटिभ छ, मृत्यु भएको कारणबारे थप बुझ्दैछौँ ।
मृत्यु भएकी महिलाको कोरोना भाइरसको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरी सुर्खेत पठाइएको जनाएको छ ।