आइतबारसम्म अधिकांश स्थानमा हुरीबतास र वर्षाको सम्भावना, सचेत रहन मौसमविद्को आग्रह

रिपोर्ट नेपाल | 2019 Apr 06 | 07:57 am 2848

काठमाडौं, चैत्र २३ : मुलुकका अधिकांश भू–भागमा सामान्य देखि पूर्णतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकको केही स्थानहरुमा चट्याङ्, मेघ गर्जन सहित हावा हुरी र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडाैं उपत्यकामा पनि आज बिहानैदेखि  एकाएक अँध्यारो भएर डरलाग्दो देखिएको छ । मौसम अँध्यारिएसँगै भारी वर्षा समेत भइरहेकाे छ ।

शनिबार दिउँसो मुलुकका अधिकांश भूभागमा सामान्यतः बदली रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही स्थानमा मेघ गर्जने र चट्याङसहित हुरीबतासको सम्भावना भएकाले सुरक्षित हुन आह्वान गरिएको छ । साथै हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिन्छ । तराईका भूभागमा पनि हुरीबतास चल्ने सम्भावना छ ।

यसैगरी, शनिबार राति पनि मुलुकका अधिकांश भूभागमा बदली रहनेछ । देशको पूर्वी तथा मध्य भूभागका केही स्थानहरूमा र पश्चिमी भूभागका थोरै स्थानमा मेघ गर्जनका साथ हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएकाे छ ।

हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिन्छ । तराईका भूभागमा हुरीबतास चल्ने सम्भावना देखिने ।  यस्तै आइतबार पनि हुरीबताससहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो देशभरका धेरैजसो भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । देशको पूर्वी तथा मध्य भूभागका थोरै स्थानमा र पश्चिमी भूभागका एक वा दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिन्छ ।

यसैगरी, आइतबार राति मुलुकको पूर्वी क्षेत्रका अधिकांश भूभागमा सामान्य बदली तथा मध्य र पश्चिमी क्षेत्रको भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशको पूर्वी भूभागका थोरै स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना रहेसँगै शनिबार साँझ पश्चिम र मध्य तराईका केही स्थानमा हुरीबतास चल्ने महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.