काठमाडौं, पुस ३०ः २०७७ साल असार महिनामा नेपाल प्रहरीको प्रमुख बन्नका लागि वर्तमान प्रमुख शैलेस थापा क्षेत्री र वर्तमान अतिरिक्त महानिरीक्षक हरी पाल बीच प्रतिष्पर्धा थियो ।
नेपाल प्रहरीको इतिहासमा एकले अर्काको उछितो नकाढेको र सत्तोसराप नगरेको यि दुई अधिकृतका समयमा हो । प्रहरीका डिएसपी भन्दा माथिका अधिकृतले पाल साहब कमाण्डीङ पावर भएको अफिसर हुन् भने शैलेस थापा कसैलाई काखा र पाखा नगर्ने अधिकृत भएका कारण जो आइजीपी बने पनि ठिक हुन्छ भन्थे ।
दुई प्रतिष्पर्धी पनि एक अर्का प्रति सम्मान गर्ने गरेका थिए । गृहमन्त्रालयले शैलेस थापा क्षेत्रीको नाम सिफारिस गरेपछि प्राय अधिकृतका मुखबाट अब प्रहरीमा गलत निर्देशन हुँदैन, सबैलाई समान व्यवहारले हेरिन्छ, प्रहरी संगठन राजनीतिक पहुँचबाट चोखो र शुद्धिकरण हुन्छ, सबैको कुरा सुनिन्छ र कोही काखा र पाखा हुँदैनन् भनिन्थ्यो ।
शुरुका दिनमा ति कुरा हुन नखोजेका होइनन् तर दिन प्रति दिन महानिरीक्षक थापाले प्रहरी कर्मचारीले जुन सोच राखेका थिए त्यो सोचलाई पूरै सय डिग्रीमा उल्टो फर्काएर आफ्नो कार्य गरिरहेका छन् ।
बाहिर हेर्दा भ्रष्टाचार शुन्य सहनशिलताको नारा घन्काउने तर भित्र कम्मल ओढेर घ्यू चोर्ने आफ्ना आसेपासेलाई मालदार ठाउँ दिने अन्यलाई तेल निस्कन्जेल पेल्ने गरेका छन् ।
रिपोर्ट नेपाललाई प्रहरीको एक भरपर्दो स्रोतले दिएको समाचार अनुसार महानिरीक्षक थापाले जिल्लामा इन्चार्ज पठाउँदा पूरै आग्रह पूर्वाग्रह राखेर पठाइएको छ । यतिखेर प्रधान कार्यालयमा दुई वटा नियम लागु गरिएको छ । बिरोधि सम्झनेलाई इन्चार्जबाट इन्चार्ज जान पाइदैन भन्ने नियम लागु गरिएको छ भने, आफू निकटका मानिने प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईलाई बाराबाट काठमाडौं त्यसपछि झापा र अहिले गणको इन्चार्ज बनाएर पठाइएको छ । यो एउटा उदाहरण मात्रै हो । यस्तो कृयाकलाप दर्जनौंको संख्यामा गरिएको छ । थुप्रै एसपीहरु सक्षम र सवल हुँदाहुँदै पनि थन्काएर राखिएको छ भने, भर्खरै बढुवा भएका आफू निकटकालाई इन्चार्ज बनाएर पठाइएको छ ।
त्यस्तै थुप्रै यस्ता एसपी छन् महानिरीक्षक थापा आफैले बनाएको नियम उलंघन गर्दै मालदार ठाउँमा इन्चार्ज बनाएका छन् । शुरुमा नियुक्त हुँदा तराईका इन्चार्ज पहाडमा र पहाडकालाई तराईमा पठाउने भनिए पनि त्यो भनाईलाई महानिरीक्षक थापाले पूरै धोती लगाइदिएका छन् ।
धनुषाबाट गल्ती देखाएर हेड क्वाटर तानिएका एसपी प्रकाश रानाभाटलाई आफू निकटको भएका कारण सुनपानी छर्किएर चोखाइएको छ । नेपाल प्रहरीको इतिहासमा यति सारो अडान नलिने र निरीह आइजीपी कोही नभएको स्वयम् प्रहरी स्वीकार गर्छन् ।
गएको साउनको तलब खाने गरी सरुवा हुनुपर्ने लेखापाल (एकाउण्टेड) ६ महिना सम्म गर्न नसकेर निरीहिता प्रदर्शन गरिएको छ । लत्ता कपडाको टेण्डर आब्हान नगरेर सडकमा खटिने प्रहरी च्यातिएका कपडा लगाएर खटिन बाध्य भएका छन् । निलो यूनिफर्म खुइलिएर कलर नचिनिने भएको छ ।
आन्तरिक मर्मत सम्भारमा पनि पर्याप्त बजेट राख्न समेत महानिरीक्षक असफल भएका छन् । महानिरीक्षक थापाको शैलीले गर्दा वर्तमान गृहमन्त्री बालकृष्ण खाँण समेत अलोकप्रिय बन्ने पक्का भएको छ । जनतालाई देखिने गरी राहत दिनुपर्छ भन्ने सोच राख्ने खाँण महानिरीक्षक थापाको शैली देखि दिक्क भएको बुझिएको छ ।