पर्सा, मंसिर ३ः तीन लाख रुपैंया खर्च गरेर काज आदेश गराएर जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तको घुमुवा बनेका हवल्दार सुरेन्द्र साहको काज आदेश प्रहरी महानिरीक्षक शैलेस थापाको आदेशले खारेज भएको छ ।
पैसा उठाउनमा माहिर मानिने हवल्दारको विषयमा रिपोर्ट नेपालले समाचार प्रकाशित गरेपछि उनको काज रद्द गरिएको थियो ।
सुरेन्द्र साहलाई पैसा उठाउन सहयोग गर्ने हवल्दार खुसीलाल यादव र देजदास कुसहवा पनि उपरीक्षक पन्तका घुमुवा हुन् ।
प्रहरी प्रधान कार्यालयबाट काज रद्द भई दरबन्दीमा रमाना गर्ने आदेस भएपनि उपरीक्षक पन्तले अहिलेसम्म कार्यान्वयन गरेकी छैनन् ।
महानिरीक्षक थापाको निर्देशनलाई समेत बेवस्ता गर्दै हवल्दार सुरेन्द्र साहलाई रमाना नदिनुका पछाडिको रहस्य भने बुझ्न सकिएको छैन ।
गोर्खा दरबन्दी भएका साह यस अघि मकवानपुरको रातोमाटे चेक पोस्टमा कार्यरत थिए । मकवानपुरबाट रमाना लिएको २५ दिन भित्र काज आदेश गराएर वीरगञ्जको घुमुवा बनेका साहको दर्जा हवल्दार भए पनि पावर महानिरीक्षकको आदेशलाई समेत बेवास्ता गर्ने भएको वीरगञ्ज प्रहरी भित्र चर्चा चल्ने गरेको छ ।