काठमाडौं, असार १० । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरको निर्देशनमा चौबिस घण्टा भित्र काज गर्नुपर्ने दुई जना बरिष्ठ सइलाई जिल्लाका एसपीले रमाना नदिएर शक्ति केन्द्र धाएर थमौती गर्नका लागि विदा छाडेका छन् ।
रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार जागिरे जीवनको अठार वर्ष बारा पर्सामा बिताएका वरिष्ठ सई सागर राणालाई प्रहरी प्रधान कार्यालयले रामेछाप काज सरुवा गरेको थियो । चौविस घण्टा भिन्न रमाना दिन गरीएको निर्देशनलाई बेवास्ता गर्दै बाराका एसपी भविन्द्र बोगटीले काज थमौतीका लागि दौडधुप गर्न १५ दिन विदा छाडेर आइजीपीको आदेसलाई खिल्ली उडाइदिएका छन् । वरिष्ठ सई सागर राणाको ज्यादतीबाट वाक्क दिक्क भएका सिनियर अधिकृतले राणाको काज आदेस भएका दिन भोज खाएका थिए।
सिनियर अधिकृतहरुलाई पाखा लगाउदै सबै चौकीमा खटन पटन राणाको इसारामा गर्ने गरीएको पनि बुझिएको छ । तस्कर र तस्करीसँग राम्रो हिमचिम भएका बरिष्ठ सई राणालाई एसपी बोगटीले पुरस्कार दिएको कुरालाई बाराका प्रहरी कर्मचारीले खिल्ली उडाएका छन् । लामो समय देखि मधेसमा बसेका बरिष्ठ सई राणालाई मुलुकलाई फाइदा हुने सूचना र कारवाही गरेर होइनकी माल उठाउन माहिर भएका कारण पुरस्कार दिइएको चर्चा बारामा चल्ने गरेको छ । यसैगरी त्यही दिन कालिकोटका लागि चौविस घण्टे रमाना दिन निर्देशन दिइएका पर्साका बरिष्ठ सइ विनोद सिंहलाई पनि एसपी कोमल शाहले काज रोक्न शक्ति केन्द्र जानका लागी दश दिनको विदा छाडेका छन् । यी दुई सइको रमाना रोकेर विदा छाडेपछि अहिले प्रहरीमा आइजी भन्दा एसपी शक्तिशाली भन्न थालिएको छ ।