काठमाडौं, माघ २८: उत्तरी छिमेकी मुलुक चीनले विभिन्न बहानामा बन्द गर्दै आएको तातोपानी नाका मंगलबारदेखि पुनः सञ्चालनमा ल्याएको छ। उक्त नाका पछिल्लो २० दिनदेखि पूर्ण रूपमा बन्द थियो।
चिनियाँ सरकारले मितेरी पुलको पुनर्निर्माण गर्नुपर्ने भन्दै गत माघ ७ देखि २७ गतेसम्म नाका बन्द गरेको थियो। चीन सरकारले उक्त पुलको पुनर्निर्माणपश्चात् मंगलबार दिउँसोदेखि तातोपानी नाका सञ्चालनमा ल्याएको हो।
नाका सञ्चालनमा आएपछि मंगलबार दिउँसोदेखि साँझसम्म जम्मा ६ वटा कन्टेनर सामान बोकेर भोटेकोसी गाउँपालिकाको लार्चास्थित सुक्खा बन्दरगाहमा आइपुगेको हो। सुक्खा बन्दरगाहस्थित भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले तातोपानी नाका सञ्चालनमा आएपछि मंगलबार ६ वटा कन्टेनर आइपुगेको जानकारी दिए।
उनका अनुसार मितेरी पुलपारि अड्केका ६ वटा कन्टेनर उक्त बन्दरगाहमा आइपुगेको हो। ‘त्यहाँबाट नेपाली नम्बर प्लेटका ६ वटा कन्टेनरमा लोड गरी गन्तव्यस्थलका लागि साँझसम्म छाडिएको हो’, खत्रीले भने, ‘नाका सञ्चालनमा आइसकेपछि सुरुआती समयमा केही कम संख्यामा कन्टेनर आउने तय भए पनि विस्तारै यसको संख्या पूर्ववत् रूपमा बढ्दै जानेछ।’ तातोपानी नाका पुनः सञ्चालनमा आए पनि यो हालसम्म एकतर्फी मात्रै हो। यो नाकासहित रसुवाबाट हालसम्म नेपाली वस्तुको निर्यातको बाटो भने खुलेको छैन।
उनका अनुसार बुधबार सामान बोकेर करिब ८ वटा कन्टेनर भित्रिनेछ। यसरी थुप्रिएका सम्पूर्ण कन्टेनर भित्र्याइसकेर खासाबाट पूर्ववत् रूपमा दैनिक कम्तीमा २० वटा कन्टेनर भित्र्याउने तयारी भएको खत्रीले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए। ‘कन्टेनरको संख्या बढाउने विषयमा चिनियाँ पक्षले पनि सकारात्मक चासो देखाएकाले आगामी आइतबारदेखि यो नाका पूर्ववत् रूपमा सञ्चालनमा आउनेछ’, खत्रीले बताए। चिनियाँ पक्षले दैनिक ४० को संख्यामा सामानसहित कन्टेनर पठाउने आन्तरिक तयारी गरेको भन्सार कार्यालयले जनाएको छ। लार्चास्थित भन्सार कार्यालयमा हालसम्म ४८ वटा ट्रली मात्रै भएकाले दैनिक करिब २० वटासम्म कन्टेनर आउन सक्ने व्यवस्था मिलाइएको खत्रीको भनाइ छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट