काठमाडौं, जेठ ३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफुहरुलाई अलोकतान्त्रिक शक्तिका रूपमा चित्रण गर्ने काम भइरहेको गुनासो गरेका छन् । २६औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले कम्युनिस्ट पार्टीहरूलाई एकीकृत हुन नदिने षड्यन्त्र अझै पनि भइरहेको बताए ।
उनले षडयन्त्रलाई चिर्दै एकीकरणको कार्य पूरा गरेकोमा कार्यकर्तालाई धन्यवाद समेत दिए । सम्बोधनका क्रममा दाहालले भने ‘हामीलाई नेपालमा हेप्ने र अपमानित गर्ने कार्य भइरहेको छ । ००६ सालदेखि नै कम्युनिस्टलाई विभाजित गर्ने षड्यन्त्र भएको थियो । अहिले पनि यो क्रम जारी छ । हामी लोकतान्त्रिक छैनौँ, तानाशाह हौँ भनेर पुष्टि गराउने कसरत हजारौँ पटक भएका छन् । ती प्रतिक्रियावादीलाई त्याग, निष्ठा र विज्ञानप्रतिको निष्ठाबाट प्रतिकार गरेका छौँ ।’
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले तत्कालीन एमालेको जबज र माओवादीको एक्काइशौं शताब्दीको जनवादलाई नयाँ ढङ्गले परिमार्जन गरेर अघि बढ्ने पनि बताए । कार्यक्रममा जनताको जनवाद र दीर्घकालीन रणनीति समाजवाद रहेकाले पूराना बिचार दोहोर्याई रहने भन्दा पनि यसलाई विकसित गरेर अगाडि बढ्नु पर्ने उनकाे तर्क छ।
अहिले शान्ति प्रक्रियाको टुंगोमा पुग्न नदिने गरी षडयन्त्र भइरहेको दाहालको दाबी छ । दाहालले पार्टी एकता हुन नदिन प्रचार युद्ध चलाउने काम भइरहेको टिप्पणी गरे । कार्यकर्ताको त्याग र मेहनतको परिणामले एकीकृत भएको पनि दाहालले बताए ।
दुई पार्टी एकीकरणले जनताको जनवाद र समाजवादलाई समेत एकीकृत गरेको दाहालले बताए । वर्तमान आवश्यकता अनुसार केन्द्रीय महाधिवेशन र जिल्ला अधिवेशनबाट वैचारिक नीति तय गर्ने उनले कार्यकर्तामाझ बताए ।