- योगेश भट्टराई
योगेश भट्टराई नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटिका सदस्य हुन् । विद्यार्थी राजनीतिबाट मुलुक परिवर्तनको सपथ खाएर राजनीतिमा होमिएका भट्टराई नेकपा भित्रका यथार्थवादी नेताका रुपमा परिचित छन् । आफूलाई लोगेको कुरा कोही रिसाउने र खुशी हुने कुरासँग मतलव नराखी प्रष्टसँग राख्न सक्ने नेताको कोटीमा भट्टराईको नाम अग्रपंतिमा आउँछ । पार्टीको नेतृत्व होस् वा अन्य जो कोही होस् सत्यलाई सही र असत्यलाई गलत भन्न सक्नेनेता भट्टराईसँग विदेश भ्रमण जानु अघि गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरेका छौं ।
पछिल्लो समय अध्यक्षद्वय केपी र प्रचण्डको विषयमा अनेक कुरा आइरहेका छन्, वास्तविकता के हो ?
सामान्य टिका टिप्पणी हुनुलाई मैले त्यती ठूलो मानेको छैन । जुन बेला हामी दुई पार्टीमा थियौं र निर्वाचनमा मिलेर गयौं त्यो आपसी झगडा र विवादका लागि नभएर राजनीतिक स्थायित्व दिनका लागि हो । वर्षौं देखि गोलमटोल बन्दै आएको राज्य प्रणालीलाई सही दिशामा ल्याउन र समुन्नत नेपालको निर्माणका लागि हामीले जनतासाग मत मागेका थियौं । हामीलाई जनाताले राजनीतिक स्थायित्व र विकासलाई निकास दिनका लागि मत दिएका हुन् । यो कुरालाई हाम्रो दुई अध्यक्ष लगायत सबै नेताले राम्रोसँग बुझेका छौं । सामान्य समस्या आउँछ ति समस्या हल हुँदै जान्छन् ।
सरकार आलोपाले चलाउने कुरा पनि बाहिर आएको छ, यसले पार्टीलाई घाटा फाइदा के हुन्छ ?
अहिले यस्ता बहस गरेर बस्ने बेला होइन । अहिले नै आवश्यक बहस गरेर पार्टीलाई कमजोर बनाउने काम गर्नु हुँदैन । कुनै समय यस विषयमा बहस भएछ भने यस विषयमा बोलौंला होइन भने पार्टी भित्रका लडाई गराउन म चाहान्न।
त्यसो भए प्रचण्ड ओलीबीच भएको सहमती कार्यान्वयन हुँदैन होइन त ?
यस विषयमा अहिले कुनै छलफल नचलेको हुँदा उपयुक्त समयमा आफ्नो मत जाहेर गरौंला । पार्टी एक हुने बेलामा पक्कै पनि सहमति भएकै छन् । सहमतिहरु समयानुकुल बदलिन पनि सक्ला । कतिपय कार्यान्वयन पनि हुन्छन् । सहमति प्रति सबै इमान्दार हुनुपर्छ ।
कतिपयले त सम्झौता कार्यान्वयन हुनेमा शंका व्यक्त गर्छन त ?
शंकाले लंका गलाउछ भने झै कसले के कस्ता शंका उपशंका गरे भनेर म त्यता तिर जान चाहान्न । नेकपामा क्रान्ति गरेकादेखि जनयुद्ध लडेका नेता कार्यकर्ता छन् । उनीहरु सबैलाई के थाहा छ भने समझदारी बिना केही हुँदैन भनेर । देशव्यापी सबैभन्दा शक्तिशाली संजाल भएको पार्टीमा कसले के भने भन्दै हिड्नु उचित हुँदैन ।
आन्तरिक बहस नै हुँदैन कसरी कसरी सहमती गर्ने भन्ने नेताहरु पनि त छन् नि होइन र ?
तपाईले गरेको प्रश्न एक किसिमले सही पनि हो । लामो समयदेखि पार्टीको बैठक बसेको छैन । आन्तरिक बहस र छलफल कम भएको कुरालाई मैले पनि स्वीकार गर्छु । अब हामीले छिट्टै स्थायी कमिटि र केन्द्रीय कमिटिमा छलफल गरेर सबै कुराको हल गरेर अघि बढ्छौं ।
सरकारले पार्टी मै पनि छलफल नगरी विधेयकहरु ल्याउँदा त्यसले पार्टीलाई बेफाइदा पुगेको भन्नेहरुलाई तपाई के भन्नुहुन्छ ?
कतिपय विधेयक सावधानी पूर्वक नल्याउँदा जनतामा त्यसको आक्रोश आयो र प्रतिकृया पनि थुप्रै आएको सत्य हो । अबको दिनमा कानुन, विधेयक बनाउँदा पार्टी भित्र छलफल गर्दै स्टेक होल्डरहरुसँग पनि छलफल राय सुझाब लिएर अघि बढ्दा सरकार र पार्टीको हाइट बढ्छ ।
सरकार प्रति जनताको आस्था र विश्वास टुट्दै जान थालेको महसुस गर्नु भएको छैन ?
जनताले अविश्वास भन्दा पनि सरकारले गरेका र गर्न खोजेका कामहरु बारे जिज्ञासा राखेको पाइन्छ । जनताको आशा र विश्वासलाई नेकपाले टुट्न दिँदैन । कम्युनिस्ट प्रनि जनताको आस्था र विश्वास टुट्यो भने लोकतन्त्र प्रति हुने खतरामा हामी पूर्ण सचेत छौं ।
प्रतिपक्ष दल नेपाली कांग्रेसले त सरकार अधिनायकवाद तिर लम्कदै जनविरोधि काम गरेको आरोप लगाएको छ नि के भन्नुहुन्छ ?
२०४८ सालदेखि अत्यधिक समय अनेक जालझेलबाट सत्तामा बसेको कांग्रेसलाई सत्ताको छटपटीले पोलेको हो । दुई तिहाइ मत प्राप्त कम्युनिस्टको सरकारलाई केही गरी फाल्न नसकिने भएपछि अनेक बखेडा झिकेर कांग्रेस अघि बढी रहेको छ । नेपालमा कम्युनिस्ट ठूलो बनेकोमा काग्रेस मात्रै होइन देशी विदेशी शक्ति पनि अत्तालिएका छन् ।
तपाईले राष्ट्रपतीय शासनको कुरा गर्दै आउनु भएको छ यो तपाईको निजी विचार हो की पार्टीको के हो ?
यो नितान्त मेरो व्यक्तिगत विचार हो । यसलाई पार्टीले मान्ने हो भने राजनीतिक स्थायीत्वको ग्यारेन्टी गर्छ भन्ने मेरो मान्यता हो ।
पार्टी एकता कतै “ए” कता ? हुने त होइन ?
जिल्ला कमिटिहरु बनिसकेका छन् । केन्द्रीय कमिटिको बैठक नबसेको धेरै लामो समय भइसकेको छ । एकतापछि बैठक बस्नुपर्ने थियो त्यो हुन सकेको छैन । २०७५ पुसमा स्थायी कमिटिको बैठक बसेपछि त्यो पनि बसेको छैन । अब छिट्टै सबै प्रकृया अघि बढेर अर्को पटक तपाईले सायद यो प्रश्न गर्न पाउनु हुने छैन ।