अस्पताल सुधारका लागि ध्यानाकर्षण

रिपोर्ट नेपाल | 2021 Dec 21 | 07:27 am 1749

मकवानपुर, पुस ६ः बागमती प्रदेश सरकार मातहत रहेको हेटौँडा अस्पतालको सेवा–सुविधामा सुधार र प्रभावकारिताका लागि प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाको ध्यानाकर्षण गराइएको छ । गैरसरकारी संस्था महासङ्घ मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटाको नेतृत्वमा सोमबार मन्त्रालय पुगेको टोलीले मन्त्री लामालाई अस्पताल सुधार र सेवाको प्रभावकारिताका लागि आठ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

अस्पतालको स्तरोन्नति एवं क्षमता अभिवृद्धि, सबै रोगको विशेषज्ञ सुविधासहितको सेवाको व्यवस्था र समयमा डाक्टरको उपस्थिति सुनिश्चित गर्नुपर्ने माग गरिएको छ । यस्तै बेवारिसे बिरामीको उपचारको व्यवस्था मिलाउनुपर्ने, निर्माणाधीन अस्पताल भवन छिटो सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने, कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्ने, स्वास्थ्य बीमा गराएकाले सहज रूपमा औषधि पाउनुपर्ने र बिरामी जाँचका लागि टिकट वितरण प्रणाली व्यवस्थित गर्न स्वास्थ्यमन्त्री लामालाई ज्ञापनपत्र बुझाउँदै माग गरिएको हो ।

मन्त्री लामाले ध्यानाकर्षण पत्र बुझ्दै नागरिक समाजको सुझावअनुसार हेटौँडा अस्पतालको सेवा र सुविधामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरे । उनले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले अस्पतालको सेवालाई थप प्रभावकारी बनाई गुणस्तरीय सेवा पाउने अवस्था सुनिश्चित गरिने बताए । ज्ञापनपत्र बुझाउन सामुदायिक वन उपभोक्ता महासङ्घ, नारी संरक्षण केन्द्र, दलित महिला सङ्घलगायतका नागरिक समाजका प्रतिनिधि पुगेका थिए । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.