काठमाडौं, माघ १४ : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले अस्पताल क्षेत्रमा कुनै पनि धर्ना, विरोध र बन्दहड्तालका कार्यक्रम नर्गन अनुरोध गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षण अस्पतालले बिरामीको स्वास्थ्योपचारमा समस्या हुनेगरी कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको हो ।
चिकित्सा शिक्षा सुधार लगायतका माग राखेर २५ दिनदेखि अनशनरत अस्पतालका डा गोविन्द केसीको समर्थनमा नेपाल चिकित्सक संघले सोमबारदेखि अस्पताल परिसरमा रिले अनशन थालेको छ ।
‘अस्पताल परिसरमा हुने अनशन, रिले अनशन, विरोध प्रदर्शनले सर्वसाधारण जनतालाई स्वास्थ्योपचार सुविधा प्रदान गर्न समस्या हुने’ भन्दै अस्पतालले ध्यानाकर्षण गराएको छ।
‘शिक्षण अस्पताल जस्तो सर्वसाधारणको पहुँचमा रहेको अस्पतालमा कुनै पनि धर्ना, विरोध, बन्द हड्तालको कार्यक्रम नराख्न’ अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाद्वारा जारी विज्ञप्तिमा अपिल गरिएको छ।
