अस्पतालभित्रै लाठीचार्ज गरेकोमा कांग्रेसको आपत्ति

रिपोर्ट नेपाल | 2018 Jul 19 | 07:10 pm 1854

काठमाडौं, साउन ३ : जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीले लाठीचार्ज र अश्र्ग्यासु प्रहार गरेकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । अनसनरत डा। गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा अस्पतालभित्रै प्रवेश गरेर प्रहरीले लाठीचार्ज, अश्रुग्यास प्रहार र अस्पतालको लाखौंको सम्पत्तिमा क्षति पुर्‍याएको भन्दै कांग्रेसले भर्त्सना गरेको हो ।

केसीको माग संबोधन गर्नुको साटो प्रतिपिक्षी दलसँग परामर्श गर्ने परम्परा विपरीत प्रतिनिधि सभा बैठक ८ दिन पर सारेर सरकारले गैर जवाफदेही क्रियाकलाप गरेको पनि कांग्रेसको आरोप छ । ‘समाधानको खोजी गर्ने थलो संसदलाई छलेर विषयलाई विषयान्तर गर्न सकिने भ्रमबाट मुक्त हुन समेत नेपाली कांग्रेस सरकारलाई सचेत गराउन चाहन्छ’ प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले डा। गोविन्द केसीको जीवन रक्षा र अध्यादेशको हुबहु कार्यान्वयन गर्न सदन र सडकमा विरोध जारी रहने जनाएको छ । सरकारले चिकित्सा शिक्षा अध्यादेश भन्दा विपरीत विधेयक ल्याउन लागेको र अधिनायकवाद उन्मुख शैली देखाएका कारण समस्या जटिल बनेको कांग्रेसले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.