बाँके, पुस १ः अस्पतालबाट दुई प्रकारका फोहोर निस्किन्छन्, सामान्य र संक्रमित । संक्रमित तथा जोखिमयुक्त फोहोर जहाँ पायो त्यही फाल्नु हुँदैन । निर्मलीकरण गर्नुपर्छ । नेपालगञ्जका अस्पताल तथा क्लिनिकबाट निस्किने फोहोर सामुदायिक वनमा फाल्ने गरेको पाइएको छ । कोहलपुरको सरस्वती सामुदायिक वनमा लगेर अस्पतालजन्य फोहोर फाल्ने गरिएको हो । जुन वातावरणीय दृष्टिकोणले हानिकारक मानिन्छ ।
नेपालगञ्जमा अस्पतालजन्य फोहोर फाल्ने ठाउँ छैन । अस्पतालहरूले ‘मिलेको ठाउँमा’ फोहोर फाल्ने गरेका छन् । पछिल्लो समयमा नेपालगञ्जका सबै अस्पताल तथा क्लिनिकले सामुदायिक वनमा फोहोर फालिरहेका छन् । फोहोर व्यवस्थापनका लागि क्लिनिक तथा अस्पतालहरूले १ हजार ५ सयदेखि ७० हजार रुपियाँसम्म मासिक तिर्ने गरेका छन् ।
नेपालगञ्ज मेडिकल कलेज, भेरी अस्पतालबाट धेरै फोहोर निस्किन्छ । मेडिकल कलेजले मासिक ७० हजार रुपियाँ र भेरीले ५६ हजार रुपियाँ तिरेर फोहोर फाल्ने गरेका छन् । वेस्टर्न अस्पतालले १४ हजार तिर्छ भने अन्य क्लिनिकले १ हजार ५ सय, ३ हजार, ५ हजार मासिक तिर्छन् ।
अस्पतालहरूले फोहोर फाल्न पाए । उनीहरूको हिसाबले राम्रो भयो । तर, सामुदायिक वनमा लगेर जथाभावी फाल्नु वातावरणीय दृष्टिले राम्रो मानिँदैन । अस्पतालले सुइलगायत हानिकारक वस्तु फाल्छन् । त्यो जथाभावी फालिँदा त्यसले वनमा जाने मानिस, जनावरलाई असर पार्छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसीले अस्पतालजन्य फोहोर जहाँ पायो, त्यही फाल्न नहुने बताए । ‘अस्पतालबाट दुई प्रकारका फोहोर निस्किन्छन् । संक्रमित फोहोरलाई सावधानीपूर्वक व्यवस्थापन गर्नुपर्छ’, वातावरण इन्जिनियर डिसीले भने– ‘त्यसलाई जहाँ पायो, त्यही फाल्नु हुँदैन ।’
सन् २०१९ को रिपोर्ट अनुसार नेपालगञ्जका अस्पतालबाट दैनिक १ हजार २ सय ४२ किलो फोहोर निस्क्छिन् । यसमा ७३ प्रतिशत संक्रमित तथा जोखिमयुक्त फोहोर पर्छ । अहिले अस्पतालजन्य फोहोरको मात्रा बढेको छ । पछिल्लो समयमा त्यसबारेमा अनुसन्धान भने भएको छैन ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले छिट्टै अस्पतालजन्य फोहोर व्यवस्थापन गर्ने बताए । नेपाल समाचारपत्रबाट