अस्पतालकाे जागिरबाट निकालिएपछि एक कामदारद्वारा आत्मदाहको प्रयास

| 2020 Jun 08 | 02:57 pm 3021

अछाम, जेठ २६ः जिल्लाकाे बयलपाटा अस्पताल परिसरमा एकजना कामदारले आत्मदाहको प्रयास गरेका छन् । अस्पतालको सेवाबाट निकालिएका साफेबगर नगरपालिका घर भएका २७ वर्षका सफाइ कर्मचारी सिद्धार्थ आहुजीले सोमबार विहान ९ बजेतिर आफ्नै जिउमा आगो लगाएका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । उनको अवस्था गम्भीर रहेको र उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको उनले बताए ।

केही दिनअघि अस्पतालले कामबाट निकालिदिएपछि तनावमा रहेका उनले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्।

साँफेबगर नरपालिकाका मेयर कुलबहादुर कुँवरका अनुसार उनीसहित ३३ जनालाई केही दिनअघि तीन महिनाको समय दिएर सेवा मुक्त गर्नको लागि निवेदन दिइएको थियो । सोही कारणदेखाएर उनले आत्मदाहको प्रयास गरेको हुनसक्ने उनको भनाइ छ ।

३३ जनामध्ये आउजी शौचालय सफाई गर्ने कर्मचारी हुन्। उनले सोमबार बिहान अस्पताल परिसरमा शरीरमा आगो लगाएका थिए। तर तत्काल स्थानीय कर्मचारी, प्रहरी र स्थानीयले आगो निभाएर उनलाई बचाएका थिए।

गम्भरी घाइते भएका आउजीलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र अछामका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको पहलमा सिम्रिक एयरको हेलिकोप्टरमार्फत कोहलपुर मेडिकल कलेज पठाइएको बताइएकाे छ ।

न्याय हेल्थ नेपालद्वारा सञ्चालित बयल्पाटा अस्पतालले विविध कारण देखाइ जेठबाट कर्मचारी कटौति गरेको छ। लकडाउनकै बेला जागिरबाट निकालिएपछि उनीसहितका कर्मचारीहरु तनावमा रहेकाे बुझिएकाे छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.