अस्ट्रेलियामा ‘आपतकाल’को घोषणा

रिपोर्ट नेपाल | 2020 Jan 31 | 03:19 pm 2104

ऐजेन्सीः माघ १७: करिब पाँच महिनाअघिदेखि लगातार रुपमा लागेको डढेलो नियन्त्रणमा नआएपछि अस्ट्रेलियाले ‘आपतकाल’ घोषणा गरेको छ ।

गत सेप्टेम्बरदेखि फैलिएको डढेलो राजधानी सहर क्यानबेराको दक्षिणी भेगमा पुग्न लागेपछि ‘आपतकाल’ घोषणा गरिएको हो ।

सन् २००३ मा लागेको डढेलोपछि पहिलोपटक ‘आपतकाल’ घोषणा गरिएको बताइएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार अनियन्त्रित डढेलो १ सय ८५ स्क्वायर किलोमिटरसम्म फैलिसकेको छ । नबेराको उपनगरका बासिन्दालाई सुरक्षित ठाउँमा जान पनि आग्रह गरिएको सञ्चारमाध्यमले जनाएको छ ।

आपतकालीन अवस्था ७२ घण्टासम्म लागू हुने बताइएको छ । सहर खाली गर्न, सडक बन्द गर्न अधिकारीहरूलाई आदेश पनि दिइसकिएको छ । सिड्नी र मेलबर्नको बीचमा पर्ने यो क्षेत्रमा ४ लाख मानिस बसोबास गर्छन् ।

डढेलोका कारण अहिलेसम्म ३३ जनाको मृत्यु भइसकेको छ । करिब २५ सय घर जलेर नष्ट भइसकेका छन् भने ५० करोडभन्दा बढी पशुपंक्षीको मृत्यु भइसकेको बताइएको छ।

अधिकारीहरुले यो आगलागी गएको दुई दशककै सबैभन्दा भयानक र खतरनाक भएको बताएका छन् । गत सेप्टेम्बरदेखि अस्ट्रेलियाको इष्ट कोस्टसम्म फैलिएको डढेलो नियन्त्रण गर्न अग्नि नियन्त्रकहरूले प्रयास गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.