काठमाडौं, असोज ३: संविधान जारी भएको दिन असोज ३ गतेलाई अब ‘राष्ट्रिय दिवस’का रूपमा मनाइने भएको छ । सरकारले सबै प्रकारका आन्दोलनका उपलब्धि संस्थागत भएको दिनका रूपमा संविधान जारी भएको दिनलाई चित्रित गरेको छ।
लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र स्थापना भएका दिनभन्दा भव्य रूपमा बुधबार पहिलोपटक ‘राष्ट्रिय दिवस’ मनाइँदै छ। यसअघि कुनै पनि दिनलाई नेपालको ‘राष्ट्रिय दिवस’ मानिएको थिएन । प्रधानमन्त्री केपी ओलीले ‘राष्ट्रिय दिवस’ मनाउने गरी सरकारी कार्यक्रममा पाहुनालाई निमन्त्रणा पठाएका छन्। टुँडिखेलमा भव्य कार्यक्रम राखिएको छ।
संविधान जारी भएको यो तीन वर्ष संवैधानिक संक्रमणकालको अवधि थियो जुन अब करिब पूरा भएको छ । संविधानअनुसारका तीन तहका शासकीय संरचना तयार भइसकेका छन् । संविधानको मूल विशेषता संघीयता हो। यही कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय गरी तीन तहका शासकीय संरचनाको व्यवस्था संविधानमा थियो। गत वर्षको चुनावपछि तीन तहका सरकारको अभ्यास सुरु भएको छ।
संघमा प्रतिनिधिसभा र राष्ट्रिय सभासहितको द्विसदनात्मक व्यवस्थापिका बनेको छ। सातवटा प्रदेशमा प्रदेशसभा बनेका छन्। ७५३ स्थानीय तहले पनि स्वायत्त सरकारको अभ्यास गरिरहेका छन्। स्थानीय तहले समेत न्यायिक अधिकार प्रयोग गर्न पाएका छन्। प्रदेशमा उच्च अदालतको अभ्यास सुरु भइसकेको छ।
संविधानले तीन वर्षभित्र मौलिक हक कार्यान्वयनसम्बन्धी कानुन बनाइसक्नुपर्ने समयसीमा तोकेको थियो। संघीय संसद्ले त्यसभित्रै मौलिक हक कार्यान्वयनसम्बन्धी १६ वटा कानुन बनायो । ‘संविधान जारी भएको तीन वर्ष भए पनि चुनाव सम्पन्न भएको एक वर्ष पूरा भएको छैन, अत्यावश्यक कानुन भर्खर निर्माण भएका छन्,’ राजनीतिक विश्लेषक नीलाम्बर आचार्यले भने, ‘यो अवधिको काम ठीकै ढंगले अघि बढेको छ तर अहिले नै संविधानको बृहत् व्याख्या र समीक्षा गरिहाल्नु हुँदैन, कसरी सफल प्रयोग हुँदै जान्छ, कम्तीमा पाँच वर्ष हेर्नुपर्छ।’
संविधान जारी गर्दा संविधानसभाभित्र र बाहिर करिब तनावकै अवस्था थियो। संघीय समाजवादी फोरम, राजपाजस्ता दल संविधानसभा छोडेर सडकमा आन्दोलनमा थिए। संविधानकै प्रावधानमा असन्तुष्टि राख्दै भारतले नाकाबन्दी लगाएको थियो। त्यो स्थितिमा जारी संविधानको स्वीकार्यताको दायरा अहिले बढेको छ। संविधानप्रति असन्तुष्टि राखेका तिनै दल यही संविधानअनुसार तीन तहका निर्वाचनमा सहभागी भएर अहिले सरकारमा समेत सामेल छन्। जोडिएका छन्,’ संविधानविद् अधिवक्ता टीकाराम भट्टराईले भने, ‘स्वीकार्यताको दायरा बढाएको छ।’
संविधानमा अक्षरहरू सुन्दर रूपमा कुँदिएर मात्र हुँदैन। जनताले अक्षरमा भनिएअनुसारको प्रतिफल व्यावहारिक रूपमै प्राप्त गर्नुपर्ने हुन्छ। यसका लागि संविधानले दिएका अधिकार नागरिकले प्राप्त गर्ने वातावरण तयार गर्नु आगामी दिनको मुख्य चुनौती रहेको सांसद अधिकारीको भनाइ छ ।‘स्थानीय प्रदेश र संघ गरी तीन तहका सरकार बनेका छन् तर जनताले के पाइरहेका छन् ? त्यसलाई ध्यान दिनुपर्छ,’ सांसद अधिकारीले भने, ‘अधिकार त संविधानले दियो तर त्यो प्रयोग गर्न जनताले सकेनन् भने संविधान सफल हुँदैन।’ अहिले तीन तहका सरकारको अभ्यासले एकअर्काका काममा समस्या देखिइसकेको छ। संघसँग प्रदेश, प्रदेशसँग स्थानीय तहको अधिकारको द्वन्द्व देखिन थालेको छ। ‘यस्ता द्वन्द्व समाधान गर्न अन्तरप्रदेश परिषद्जस्ता निकाय संविधानमै छन्, यो निकायलाई चलायमान बनाउनुपर्छ,’ उनले भने। कान्तिपुर दैनिक