सिन्धुली : शनिबार दिउँसो परेको असिना पानीले अवरुद्ध भएको विपी राजमार्ग खुलेको छ। सिन्धुलीको सिन्धुलीगढी, खनियाखर्क, चपौली, मझुवा, मतनबास तथा सुनकोसीगढतिर क्षेत्रमा पानीसँगै परेको असिनाले वीपी राजमार्ग छोपेको हो।
पानीसँगै आएको असिनाले वीपी राजमार्गलाई छोप्दा वीपी राजमार्गको सिन्धुली–नेपालथोक सडक खण्ड र मध्यपहाडी लोकमार्ग अन्तरगतको खुर्कोट–फिक्कल खण्डसमेत अवरुद्ध भएको थियो।
असिनाको थुप्रोले गर्दा यातायातका साधन चिप्लिने डर भएपछि प्रहरी र ट्राफिक प्रहरीले यातायातलाई व्यवस्थित गरी रोकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका असही रामेश्वर पाण्डेले जानकारी दिए।
अचानक परेको असिना पानीका कारण दुबै राजमार्गमा सवार झण्डै दुई हजारबढी यातायातका साधान बाटोमै रोकिएका थिए। अहिले असिना गलेपछि सडक खुलेको हो।

