असारे विकास रोक्न सरोकारवालाहरुको जोड

| 2019 Jul 07 | 06:12 pm 2705

  • तिलाचन पाण्डे

गुल्मी, असार २२: असारे विकास रोक्न यहाँका सरोकारवालाहरुले जोड दिएका छन् । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०७५।७६ मा संचालन भएको योजनाहरु र कार्यालयको काम कारबाहीको विषयमा आयोजना गरेको सार्वजानिक सुनुवाई कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

समाजसेवी बुद्धीजिवी एवम् नेकपाका जिल्ला सदस्य टिकारम ढकालले असारे विकास रोक्नका लागि गाउँपालिकाका प्रमुख एवम् जनप्रतिनिधिलाई आग्रह गरेका हुन् । असारे विकास गर्दा जमिनमा भुक्षय हुने, पहिरो जान सक्ने र हतारमा काम गर्दा रकमको पनि दुरुपयोग हुने भन्दै यसलाई रोक्न आग्रह गरे ।

यस्तै कालिगण्डकी गाउँपालिका वडा नम्बर २ की मैया न्यौपानेले कही कतै पालिकाले रकम विनीयोजन र योजना बाडफाँडमा कसैलाई काखा कसैलाई पाखा बनाएको जस्तो जनतालाई भान हुन थालेको भन्दै यस्तो नगर्न आग्रह गरिन् ।

पछिल्लो समयमा आरन व्यवसायलाई व्यवसायीक बनाउनका निम्ति र युवाहरुलाई स्वरोजगार बनाउनका लागि पालिकाले वास्था नगरेको र अर्बेनीमा पन्चेबाजा संरक्षणका लागि पटक पटक आग्रह गर्दा पनि चासो नदेखाएको भन्दै प्रदिप परियारले दुःख व्याक्त गरे ।

यस्तै युवाहरुले प्रधानमन्त्री रोजगार कार्यक्रम कसरी संचालन भएको छ भन्दै चासो व्याक्त गरेका थिए ।

पुराना सडक निर्माणको ऋण प्रमुख समस्या
कालिगण्डकी गाउँपालिका भित्रका सडक निर्माणमा रहेका पुरान ऋणहरु कसरी तिर्ने भन्ने बारेमा समस्या देखिएको छ । पालिका भित्र रहेका सडक निर्माणका उपभोक्ता समितिहरुले निर्माण गरेका सडकहरुमा करिब ५ बर्ष पहिलेदेखिका र हाल सालै खनिएका सडकहरुको ऋण रहेकाले समस्या उत्पन्न भएको पाइएको छ ।

दुई बर्ष पहिले खनिएको कालीगण्डकी गाउँपालिका वडा नं २ अर्बेनी देखि माथी कोट जाने सडकको ऋण करिब २८ लाख जति भएको कुलप्रसाद न्यौपाने बताए । सो ऋण तिर्नका लागि कही कतैबाट सहयोग नभएको र पालिकाले यसको व्यवस्थापन गर्न आग्रह गरे ।

यो त एउटा उदाहरण मात्रै हो कालीगण्डकी गाउँपालिका भित्रका अधिकांश उपभोक्ता समितिहरु ऋणमा नै रहेको बताउँदै आएका छन् । हर्मिचौर भर्दालकोट तुथुम खण्ड, हर्मिचौर देउराली सडक खण्ड, हर्मिचौर गिदुवा सडक खण्डहरु संगै अन्य सडक निर्माणहरुमा पनि उपभोक्ता समितिहरु ऋणमा रहेको पालिका स्रोतले जनाएको छ ।

यता गाउँपालिकाकी उपप्रमुख तारा थापाले यी सबै ऋणहरु तिर्नका लागि के कसरी सकिन्छ भन्ने बिषयमा गाउँपालिका गम्भिर भएर सोचेकाले के गर्न सकिन्छ भन्ने बारेमा छलफल चलिरहेको दाबी गरिन् ।

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले हालसम्म भएका कार्यहरुको बारेमा जानकारी दिदै कर्मचारीको अभावले दैनिक कामकारबाही संचालनमा समस्या उत्पन्न भएको भन्दै सुशासन, पारदर्शिता र जवाफदेहीतामा आफू सधै लागि परेको दाबी गरे ।

विकासमा राजनीति गरिदैनः गाउँपालिका प्रमुख थापा
कालीगण्डकी गाउँपालिकाका प्रमुख बेद थापा मगरले पालिका भित्रको विकासमा आफूले कहिलै पनि राजनीति नगर्ने र नगरेको स्पस्ट पारेका छन् । उनले आफूलाई जनताले विकास गर्नका लागि मत दिएर पठाएको भन्दै विकासमा राजनीति नगर्ने बताएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा दैनिक ९१ जनाले सडक निर्माण, पाटीपैवा, भवन निर्माण संगै ग्राभिटी रोपबेको तार तान्ने कार्य गरिरहेको जानकारी दिए । आगामी वर्ष पालिकालाई तिब्र विकासमा लैजाने भन्दै कृषि, पर्यटन, रोजगारलाई बिशेष प्रथामिकता दिईने दाबी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.