असहाय मानसिक रोगीको उपचार खर्च अब राज्यले नै व्यहोर्ने

रिपोर्ट नेपाल | 2019 May 09 | 07:27 am 1664

काठमाडौं, वैशाख २६:  बेवारिसे र असहाय मानसिक रोगीको उपचार खर्च अब राज्यले नै व्यहोर्ने भएको छ । सरकारले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई आर्थिक वर्षको बजेटभित्रै रहेर कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको हो ।

बिरामीले उपचारको प्रतिदिन ६ सयसम्म र औषधिको मासिक चार हजारसम्म खर्च पाउनेछन् । उपचार व्यवस्था सीधै अस्पतालले गरेको भए दैनिक अस्पताललाई ६ सय र पुनस्थापना केन्द्रमार्फत भएको भए दैनिक पाँच सय दिने व्यवस्था गरिएको छ ।

औषधिको रकम भने उपचारमा संलग्न मनोचिकित्सकको प्रेस्क्रिप्सनअनुसार वा गैरसरकारी, निजी अस्पताल, पुनस्थापना गृह सञ्चालन गर्ने सामाजिक संस्था तथा निजी संस्था रहेको स्थानीय तहबाट प्रमाणित औषधिको बिलका आधारमा मात्रै प्राप्त हुनेछ ।

अशक्त, असहाय र बेवारिसे मानसिक रोग वा मनोसामाजिक समस्या भएकाहरूको उपचार तथा पुनस्थापना कार्यक्रम सञ्चालन कार्यविधि, २०७६ सरकारबाट स्वीकृत भएसँगै प्रक्रिया अघि बढेको हो । विपन्न नागरिक औषधि उपचार कोषका वरिष्ठ स्वास्थ्य प्रशासक माधव लम्सालका अनुसार सरकारले सो कार्यविधि १६ वैशाखमा स्वीकृत गरेको हो । मानसिक तथा मनोसामाजिक समस्या भएका बिरामीको तथ्यांक संकलन गरेपछि सहयोग रकम वितरण हुनेछ ।

प्रदान गरिने स्वास्थ्य सेवा

  • मनोसामाजिक तथा मानसिक स्वास्थ्य अवस्थाको विश्लेषण र लेखाजोखा
  • आकस्मिक उपचार सेवा
  • अन्तरंग सेवा
  • मनोचिकित्सकीय सेवा
  • मनोवैज्ञानिक सहयोग
  • औषधि उपचार सेवा
  • आवश्यक चिकित्सकीय सेवा
  • खाना, लगाउन तथा आवास
  • लामो समयसम्म पुनस्र्थापना केन्द्रमा राख्नुपर्ने अवस्थामा सोको लागि सिफारिस
  • डिस्चार्ज, प्रेषण, अनुगमन, अभिलेख तथा प्रतिवेदन । आजको नयाँ पत्रिकामा प्रकाशित

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.