असल संस्कार बिना मुलुकको विकास नहुने नेता नेपालको दावी

रिपोर्ट नेपाल | 2018 Jul 07 | 08:32 am 2469

विराटनगर, असार २३ : नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संघीयताले मुलुकलाई बलियो बनाउने भएकाले संघीयताको विकल्प नरहेको बताएका छन् ।

आर्थिक विकासको मूल आधार, सहअस्तित्व उद्योग र व्यापार’ प्रमुख नाराका साथ उद्योग संगठन मोरङद्वारा आयोजित पदस्थापन समारोहको उद्घाटन गर्दै नेता नेपालले उक्त कुरा बताएका हुन् ।

नेपाली संस्कार र सस्कृतिलाई जीवन्त राख्न असल संस्कारको विकास हुनुपर्ने कुरामा नेता नेपालको जोड थियो। कुशल नेतृत्व विना मुलुक र संघसंस्थाको विकास नहुने भएकोले सबै क्षेत्रमा सक्षम र कुसल नेतृत्वको आवश्यकता रहेको कुरा पनि नेता नेपालले सो समारोहमा व्यक्त गरे ।

मुलुकमा देखिएको विकृति र विसंगति हटाउनको लागि सबै एकजुट भएर लाग्नुपर्ने विचार व्यक्त गरेका थिए।

पदस्थापन कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आन्तरिक खपत र निर्यात बढाउने उद्योगको विकास गर्न उद्योगीलाई आग्रह गरेका थिए ।

मन्त्री पण्डितले श्रमिकमैत्री उद्योगी भावनाबाट आएर सरकारले उद्योगीलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

उद्योग व्यवसायीको समस्या समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध छन भन्दै मन्त्री पण्डितले विराटनगर महानगरपालिकाको चौतर्फी विकास गर्न थप बजेट विनियोजन हुने विश्वास दिलाएका थिए।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्यमशीलता र रोजगारी सिर्जना गरेर मात्र समृद्ध नेपाल र सुखी नेपाली बनाउन सकिने भएकाले यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रशस्त रोजगार प्रदान गर्ने विराटनगर जुट मिलजस्ता अन्य बन्द उद्योग सञ्चालन हुनुपर्नेमा विशेष जोड दिएका थिए ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष चण्डिराज ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुशील धनावतलगायतले संगठनका नवनिर्वाचित पदाधिकारीको कार्यकालको सफलताको शुभकामना दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.