असन्तुष्ट कांग्रेस कार्यकर्ता बीपी कांग्रेसतिर

| 2022 Nov 09 | 07:46 am 1229

डडेल्धुरा, कात्तिक २३ः सत्तारुढ गठबन्धनप्रति असन्तुष्टि जाहेर गर्दै नेपाली कांग्रेसका पुराना नेता कार्यकर्ताहरू नेपाली कांग्रेस (बीपी) मा आबद्ध हुन थालेका छन् ।

कांग्रेस नवदुर्गा गाउँसमितिका उपसभापति खडक बुढाऐर मंगलबार कांग्रेस (बीपी) मा प्रवेश गरेका छन् । उनले प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेस सुदृढ हुँदाहुँदै पनि माओवादी केन्द्रसँग गठबन्धन गरेर निर्वाचनमा होमिएकाले असन्तुष्टि व्यक्त गर्दै कांग्रेस (बीपी) मा आवद्ध भएको बताए । उनलाई प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’को सभापतिको जिम्मेवारी दिइएको जनाएको छ । मंगलबार नै प्रकाश सार्कीलाई नेसनल युथ कंग्रेसको जिल्ला सचिवको जिम्मेवारी दिइएको कांग्रेस (बीपी) डडेल्धुराले जनाएको छ ।

आलिताल गाउँसमितिका कांग्रेस पूर्व सभापति रामबहादुर कुँवर केहि दिन पहिले कांग्रेस (बीपी) मा आवद्ध भएका थिए । कुँवरका अनुसार आलिताल गाँउपालिकाका तीन वडाका वडा सभापतिसहित नेता कार्यकर्ताहरू कांग्रेस (बीपी) मा आवद्ध भएका छन् ।२०३६ सालदेखि कांग्रेसको राजनीति गर्दै आएका परशुराम नगरपालिका–७ मलासका पाका कार्यकर्ता बुद्धि धामीले सशस्त्र युद्धका बेला कांग्रेसका कार्यकर्ताहरूलाई खोजीखोजी प्रताडना दिने काम माओवादीबाट भएको कुरालाई बिर्सेर नेतृत्वले माओवादी केन्द्रसँग गठबन्धन गर्दा पुराना नेता कार्यकर्ताहरूमा असन्तुष्टि बढ्दै गएको बताए । उनी आफैंले पनि गठबन्धनप्रति असन्तुष्टि जनाउँदै हालै कांग्रेस परित्याग गरेको बताए ।

गठबन्धनका कारण कांग्रेसभित्र असन्तुष्टि चुलिन थालेपछि हालै गठन गरिएको कांग्रेस (बीपी)लाई संगठन निर्माण गर्न सहज भएको छ । डडेल्धुरामा हालै गठन गरिएको पार्टीको संगठन विस्तारकै क्रममा निर्वाचनको सामना गर्नु परेको जिकिर गर्दै कांग्रे (बीपी) डडेल्धुराका सचिव सन्तोष देउवाले भने–‘कांग्रेसभित्रको असन्तुष्टिका कारण बीपी कांग्रेसप्रति स्थानीय नेता कार्यकर्ताहरूको आकर्षण बढेको छ ।’ उनले हरेक दिन कांग्रेस (बीपी) मा आवद्ध हुनेहरूको संख्या बढ्दै गएको बताए ।

यसै गरी गन्यापधुरा गाउँपालिका–३ वडा सभापतिको जिम्मेवारी शेरबहादुर विष्ट र वडा नं. ४ वडा सभापतिको जिम्मेवारी गणेशबहादुर धानुकलाई दिइएको नेपाली कांग्रेस (बीपी) डडेल्धुराका कार्यालय सचिव रामबहादुर विष्टले बताए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.