डिएसपी ज्ञवालीको विशेष सक्रियतामा चितवनबाट वेपत्ता भएका सुदिप तेह्रथुममा भेटिए

| 2018 Nov 17 | 06:31 pm 21965

चितवन, मसिंर १ : चितवनस्थित नारायणगढ बजारबाट २६ कार्तिकमा वेपत्ता भएका पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ बाग्लुङ्गेटोलका २४ वर्षीय सुदिप सापकोटा शनिबार दिउसो करिव ३:३० बजे पूर्वी नेपालको तेह्रथुम स्थित एक होटलमा भेटिएका छन्। उनी अष्ट्रेलिया जान सपिङ गरेको सुटकेससहित कार्तिक २६ गते सोमबार करिब बेलुका ५ बजे वेपत्ता भएका थिए।

गत सोमबारबाट हराएका सुदिपलाई प्रहरीले मोबाइलको आइएमइआइ नम्बरको आधारमा पत्ता लगाएको इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी एवम् घटनाका अनुसन्धान अधिकृत दयानिधि ज्ञवालीले बताए । सुदिपले मोबाइलमा प्रयोग भएको नेपाल टेलिकम र एनसेलको सिम प्रयोग नगरी सोही मोबाइलबाट इन्टरनेट चलाएको देखिएको थियो । उनले ब्लु हेभन गेष्ट हाउसको नाममा रहेको वाइफाइबाट मोबाइल चलाएको थाहा पाएपछि प्रहरीले देशैभरका होटलहरुमा अनुसन्धान र खोजतलास गरेको थियो।

उनले सुविसुको नेट चलाएको अनुसन्धानबाट देखिएको डिएसपी ज्ञवालीले बताए। सुदिपले आफ्नै ल्यापटपबाट सबै नक्कली डकुमेण्टहरु आफैले बनाएको भेटिएको छ । दुतावासमा पेश गरिएका भनिएका कागजपत्रहरु र भिसा समेत नक्कली भएको डिएसपी ज्ञवालीले बताए । उनले आफ्नो ल्यापटप भने साथमा नलगी घरमा नै छाडेको पाइएको थियो।

भारतको दिल्ली स्थित कलेजबाट कम्प्युटर इन्जिनियर पास गरेका भनिएका सुदिपको आगामी मंसिर ४ गते अष्ट्रेलिया जाने विद्यार्थी भिसा समेत लागि टिकट समेत लिइसकेको उनका बुबा गंगा प्रसाद सापकोटाले बताएका थिए ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनले विशेष अनुसन्धान टोली गठन गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (प्रहरी उपरीक्षक) शुशिल सिंह राठौरले जानकारी दिए । सो घटनाको प्रहरी नायव उपरीक्षक दयानिधि ज्ञवालीको कमाण्डमा आइटी विज्ञ र म्यानुअल विज्ञ सहितको विशेष टोली गठन गरिएको थियो, उनले भने ।

आइटी विज्ञहरुले उनको मोबाइल र इन्टरनेट प्रयोगको सम्बन्धमा अनुसन्धान गरेको थियो भने म्यानुअल टोलीले खोलानाला, जंगल क्षेत्रमा सर्च तथा अनुसन्धान गरेको उनले बताए । अन्य थप टोलीले सडक, होटल लगायतका विभिन्न स्थानमा अनुसन्धान एवम् खोजी कार्य गरेको थियो । अनुसन्धान टोलीको नेतृत्व गरेका प्रहरी नायव उपरीक्षक ज्ञवालीसहितको टोलीले अनुसन्धान छिटो र सकुशल रुपमा गरेको समेत एसपी राठौरले बताए।

यस विषयमा गृहमन्त्री रामबहादुर थापा बादलले समेत विशेष चासो दिएका थिए। नायब उपरीक्षक ज्ञवाललीले भने, ‘फेक डकुमेन्ट बनाएर परिवार र आफन्तलार्इ ठगेपनि प्रहरी फन्दाबाट उम्कन सक्दैनन्। उनले केको लागि यसरी फेक डकुमेन्ट बनाए भन्‍ने विषयमा थप अनुसन्धान भइरहेको छ।’

सुदिपकाे फेक डकुमेन्ट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.