एजेन्सी, भदौ १५ :अष्ट्रेलियाली एकजना चलचित्र निर्मातालाई क्याम्बोडियाका विरुद्ध जासुसी गरेको आरोपमा छ वर्षको जेल सजाय तोकिएको छ। अष्ट्रेलियाली चलचित्र निर्मता जेम्स रिक्सटनलाई क्याम्बोडियाली एक अदालतले छ वर्षको जेल सजाय सुनाएको हो।
रिक्सटनविरुद्धको क्याम्बोडियाली अदालतले सुनाएको जेल सजायलाई ह्युमन राइट्स वाचले भने हास्यास्पद काम भनी टिप्पणी गरेको छ। उनलाई गतवर्षको जुन महिनादेखि पक्राउ गरी थुनामा राखिएको थियो। शुक्रबार एक अदालतले उनलाई देशका विरुद्ध जासुस गरेको भन्दै छ वर्षको जेल सजाय सुनाएको हो।
गत वर्षको जुन महिनामा क्याम्बोडियाको राजधानी नोम्पेन्हमा यहाँको विपक्षी दल क्याम्बोडिया नेशनल रेस्क्यु पार्टीले गरेको सरकार विरोधी र्यालीको तस्बिर उनले ड्रोन प्रयोग गरेर खिचेका थिए। यहाँको सरकारले पछि सो राजनीतिक दललाई नै प्रतिबन्ध लगाएको थियो। सो प्रतिबन्धित दलको तस्बिर खिचेर अन्तर्राष्ट्रिय रुपमा नै देशका विरुद्धमा जासुसी गरेको उनलाई आरोप लगाइएको हो।
गत वर्षको जुनदेखि थुनामा राखिएको रिक्सटनको मुद्दाको सुनुवाई यसै हप्ता शुरु भएको थियो। छ दिन लामो सुनुवाइपछि शुक्रबार यहाँको अदालतले उनलाई छ वर्षको जेल सजाय सुनाएको हो। फिल्म निर्माता रिक्सटनका विरुद्धमा दुईवटा मुद्दा लगाइएको थियो। ती दुवै मुद्दामा दोषी ठहर गरेर गर्दै उनलाई छ वर्षको जेल सजाय तोकिएको उक्त अदालतले बताएको छ।
उनले क्याम्बोडियामा बसेर देशका विरुद्धमा विदेशका लागि जासुसी गरेको ठहर सो अदालतको छ। तर सो आरोप नोम्पेन्हले भने अस्वीकार गरेका छन्। अदालतमा सुनुवाई भइरहेकै बेला उनले चर्को स्वरमा भन्ने, ‘विश्वासै गर्न नसकिने, मैले क्याम्बोडियाका विरुद्धमा कुन देशलाई जासुसी गरेँ?’
चलचित्र निर्माता रिक्सटनका अधिवक्ताले यस फैसलका विरुद्ध क्याम्बोडियाका राजासँग माफीका लागि अपिल गर्ने जानकारी दिए। चलचित्र निर्माता रिक्सटन ६९ वर्षका छन्। उक्त फैसला सुनाइएपछि उनले आफूमाथि अन्याय भएको प्रतिक्रिया दिए।