अश्लील गाली र गीत गाउँदै जलाइयो घण्टाकर्ण राक्षस

| 2018 Aug 10 | 06:25 am 2121

प्रत्येक श्रावण कृष्ण चतु्र्दशीका दिन नेवार समुदायमा मनाइने घण्टाकर्ण अर्थात गठामङ्गल पर्व भक्तपुरमा भिन्न शैलीमा मनाइएको छ । विशेष गरी नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप हिजो साँझ भक्तपुरको टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रुप बनाएर टोलटोल घुमाउँदै दोबाटो र चौबाटोमा पु¥याई जलाएर पर्व मनाएको हो ।

भक्तपुरको भेलुखेल, दत्तात्रयमा भने पृथक शैलीमा यो पर्व मनाउने परम्परा छ । निगालोको चोयाबाट पूर्ण राक्षसरुपी गठामङ्गल बनाई बाहिर कपडाले मोडेर विभिन्न रंग लगाई राक्षसको स्वरुप बनाएर टोलटोलमा घुमाएर जगाती लगेर विसर्जन गरिएको छ ।

भक्तपुरका इतिहासविद् एवं संस्कृतविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले सातौँ शताब्दीदेखि चल्दै आएको यो परम्परा महादेवसँग जोडिएको बताउँछन् । उनले महादेवलाई मन पराउने राक्षसको रुपमा गठामङ्गल वीर शैव सम्प्रदायअन्तर्गत रहेको जानकारी दिए ।

यसरी जात्रा मनाइएको दिनलाई महादेव उत्पत्तिको दिनसमेत मानिने र अब रोपाई सकेर रमाइलो गर्ने, चाडवाडको परम्परा शुरु हुने दिनका रुपमा पनि मानिने श्रेष्ठले बताउँछन् । यही दिन केटाकेटीले बाटोमा डोरी टाँगेर पैसा माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीकलाई घिसार्दै जलाउने प्रचलन छ ।

गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ भने टोलटोमा राँको बालेको छ्वालीको आगोमा बालबालिकालाई सेकाएर रोगव्याधी नाश हुने र भूतप्रेतले नछुने जनविश्वास समेत रहेको छ ।

भक्तपुरमा यौनसँग पनि यसलाई दाज्ने गरिन्छ । राक्षसरुपी गठामङ्गललाई शरीरको रुप दिएर परालबाट लिङ्ग बनाई दुईवटा भोगटेको अण्डकोष बनाएर अश्लिल गीतहरु गाउँदै चोकचोकबाट निकालेर दोबाटो चौबाटोमा लगेर जलाएर भष्म गर्ने परम्परासमेत रहेको छ ।

राँको बालेर भूत भगाउने भन्दै पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पु¥याइन्छ । अश्लील गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसलाई जलाइन्छ । परम्परादेखी नै अश्लिल शब्दहरुको प्रयोग गर्ने छुट रहेको किम्बदन्ती पाउन सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.