काठमाडौं, जेठ २१: सरकारले संघीय संसद र राष्ट्रियसभाका सांसदलाई विकास बजेटमा छुट्याएको रकमबाट ‘ल्यापटप दिने भएकाे छ । विकास बजेटकाे केही रकमबाट ल्यापटप र कम्प्युटर खरिदमा रकमान्तर गर्ने भएपछि संघीय संसद् सचिवालयले खरिद प्रक्रिया अघि बढाएको छ।
सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदका लागि ३ सय ३४ थान ल्यापटप खरिद गर्न प्रक्रिया सुरु गरी खरिदका लागि बोलपत्र आह्वान गरेकाे छ।
आर्थिक वर्षको अन्तिममा आइपुग्दा विकासका लागि छुट्याएको बजेट खर्च नभएपछि सांसदलाई ल्यापटप खरिद गर्न रकमान्तर गरिएको हो। संघीय संसदअन्तर्गत प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रियसभाका ५९ जनालाई एक लाख रुपैयाँका दरले ल्यापटप खरिद गर्ने तयारी भएको बुझिएकाे छ ।
बोलपत्रमार्फत छनोट हुने कम्पनीले मापदण्डमा रहेर ‘ल्यापटप कम्प्युटर’ खरिद गरेपछि मात्र अर्थ मन्त्रालयले लागेको रकम निकासा दिने तयारी गरेको छ। सांसदकाे क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दिन लागिएकाे ल्यापटप कति सांसदले प्रयाेग गर्ने हुन हेर्न बाँकी छ ।