काठमाडौं, असोज ३० : छुट्टाछुट्टै स्थान सिराहा र सुनसरीबाट अवैध लागूऔषध सहित २ जनालाई आज मंगलबार प्रहरीले पक्राउ गरेको छ । सिराहा धनगढीमाई नगरपालिका ९ बस्ने दलुवा भन्ने गंगा प्रसाद यादवलाई लागूऔषध डाइलेक्स डि.सि.१ सय एमएलको ४ सय ४७ बोतल, नाईट्राभेट १ हजार ८ सय एम्पुल, स्पासमोस ८ सय ६४ एम्पुल र फोरबिन १ सय ८० पिस सहित प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले यादवको घर जाँच गर्ने क्रममा ३ वटा वोरामा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै सुनसरी धरान उपमहानगरपालिका ११ स्थितबाट धनकुटा आहाले ९ बस्ने ४० वर्षीय शिबबहादुर राईलाई १ केजी लागू औषध गाँजा र नगद ५३ हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।
शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा उनलाई प्रहरीले जाँच गर्दा उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।