काठमाडौं, पुस २५ : छुट्टाछुट्टै स्थान बाँके र सर्लाहीबाट अवैध लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–९ बाट अवैध लागूऔषध चरेश करिब ३० केजी सहित सल्यान कुपिण्डेदह नगरपालिका–८ का ५२ वर्षीय कालिमान बुढा, सुर्खेत गुर्बाकोट नगरपालिका–१ का ३८ वर्षीय बुद्दबहादुर रजाली र रुकुम पश्चिम मुसिकोट नगरपालिका–६ बस्ने ५० वर्षीय बलबहादुर बुढालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई ५ नम्बर प्रदेश अनुसन्धान ब्युरो नेपालगंजबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको लागूऔषध कोहलपुरबाट नेपालगंजतर्फ लैजादै गरेको अवस्थामा पक्राउ गरेको हो ।
त्यस्तै सर्लाही कौडेना गाउँपालिका–१ लक्ष्मीपुरस्थित भारत बिहार प्रदेश सितामढी जिल्ला बसबिटा ग्राम पञ्चायत–११ बसबिटा टोल का १९ वर्षीय पुष्कर मिश्र र ३६ वर्षीय कन्हाई मिश्रलाई अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सुन्दरपुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ५५ ए ७९१९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ ।