काठमाडौं, पुस ३० : छुट्टाछुट्टै स्थान रोल्पा र सिराहाबाट अवैध लागूऔषध चरेश तथा गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रोल्पाको त्रिबेणी गाउँपालिका–२ बाट रुकुम भुमे गाउँपालिका–२ खावाङका ४७ वर्षीया कमिनी पुनलाई अवैध लागूऔषध चरेस करिब ५ केजी सहित आज सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।
थवाङबाट घोराही दाङतर्फ जाँदै गरेको लु.अ अ जे ७८०६ नम्बरको जिप प्रहरी चौकी नुवागाउँ चेकपोष्टमा जाँच गर्ने क्रममा जिपमा सवार पुनलाई झोलामा सिटमुनि लुकाईछिपाई राखेको अवस्थामा उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
त्यस्तै सिराहा भगवानपुर गाउँपालिका–१ का देबेन्द्र यादवको घरबाट करिब २२ केजी लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले यादबको घरमा तलासी गर्दा लुकाई राखेको अवस्थामा उक्त गाँजा बरामद गरेको हो ।
फरार भएका यादवलाई खोजी गर्ने क्रममा नजिकै फेला पारी प्रहरीले पक्राउ गरेको छ । यस विषयमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ ।