काठमाडौं, माघ ४ : छुट्टाछुट्टै स्थान बर्दिया र बाराबाट अवैध लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया राजापुर नगरपालिका–४ शत्तीपुलबाट भारत लखिमपुर खिरी ईन्द्र नगरका २७ वर्षीय हरजित सिंहलाई लागूऔषध ब्राउन सुगर अन्दाजी १० ग्राम सहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
त्यस्तै बारा जितपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगन्जबाट झापा मेचीनगर नगरपालिका–१० का २२ वर्षीय सुदिप पाण्डे र धादिङ गल्छी गाउँपालिका–४ का २२ वर्षीय नबराज भुजेललाई प्रतिबन्धित लागूऔषध फेनारगन ६० एम्पुल सहित प्रहरीले पक्राउ गरेको छ ।
वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको मे.६ प.६२२२ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस विषयमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।