अवैध लागूऔषध सहित तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 11 | 09:09 pm 1817

काठमाडौं, पुस २७ :  काठमाडौंको छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया साविक महमदपुर–९ घर भएका ३२ वर्षीय लालबहादुर राना रहेका छन् ।

उनलाई काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित सडकबाट प्रतिबन्धित लागूऔषध डाईजेल्याब ८ सय ३५ थान, नूर्फिन ८ सय ५४ थान, फेनारगन ८ सय ८६ थान, नेपाली नगद ३० हजार रुपैयाँ र १ थान मोबाइल सहित प्रहरीले पक्राउ गरेको छ ।

रानालाई विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले कारोबार गर्ने मानिस कुरेर बसेको अवस्थामा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी काठमाडौं महानगरपालिका–७ चाबहिलबाट सोही ठाउँ बस्ने ३२ वर्षीय विष्णु रिमाल र काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ बस्ने २९ वर्षीय प्रताप नगरकोटीलाई अवैध लागूऔषध डाईजेपाम १ सय एम्पुल, ब्रुप्रेनोर्फिन १ सय एम्पुल र फेनारगन १ सय एम्पुल सहित प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.