काठमाडौं, मंसिर १९ : छुट्टाछुट्टै स्थान नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र सर्लाहीबाट लागूऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मध्येबिन्दु नगरपालिका ८ फुलबारीबाट अवैध लागूऔषध नाईट्रोभेट ५ सय ९७ थान, ईस्पास्मो २ सय ८८ थान, फेन्सिडिल १ सय ९९ थान, नुर्फिन १ सय ५५ थान, फेनारागन ५५ थान, डाईजेपाम ३५ थान र साइपाम २० थान सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका ८ का ३१ वर्षीय राममिलन केवल, सोही ठाउँ का ४१ वर्षीय अम्मरजित केवल र चितवन भरतपुर महानगरपालिका १ का २७ वर्षीय अर्जुन बिक रहेका छन् ।
नियमित गस्तिका लागि खटिएका प्रहरीले बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु.१ ख ७९८५ नम्बरको बस चेकजाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सर्लाही लालबन्दी नगरपालिका १४ सत्रकठ्ठा घुमाउने डाँडाबाट हरिवन नगरपालिका ३ मोहनपुर का २८ वर्षीय सन्तोष दासलाई करिब ३० किलो अवैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा खटिएको प्रहरीले ना.५६ प ६८९४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक सन्तोषलाई उक्त लागूऔषध सहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताए ।