दाङ, मंसिर ८:अवैध लागू औषध ब्राउन सुगर सिहत आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उमनपा १३ का २१ वर्षीय बिशाल पुन मगर, १४ का बिशाल सिंह नेपाली, महेश वली, आलोक डाँगी र १५ का प्रबिण वली रहेको प्रहरीले जानकारी दिए ।
उनीहरुलाई घोराही उपमहानगर पालिका १४ बसपार्क नजिकै अवैध लागूऔषध ब्राउन सुगरको कारोवार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा दाङ प्रहरी कार्यालयबाटबाट सादा पोसाकमा खटिएका प्रहरी टोलीले पक्राउ गरेको जनाए ।
उनीहरुको साथबाट १० ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको र उनीहरु उपर लागूऔषध (नियन्त्रण) ऐन २०३३ परिच्छेद ३ दफा २२ (ग) वमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको बुझिएको छ ।
त्यसैगरी दाङ घोराही उमनपा १३ बाह्रकुने दह नजिकैबाट गोप्य सुचनाको आधारमा यस कार्यालयबाट खटिएका प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुकुम (पश्चिम) बाफेकोट गापा ७ का ३३ वर्षीय शेर बहादुर खत्री, रुकुम (पूर्व) भुमे स्यावत्त गापा १ का २८ वर्षीय तपजित घर्तिमगर र दाङ घोराही उमनपा १३ का २६ वर्षीय अबिनास थापा रहेका छन्।
उनीहरुको साथबाट ३० ग्राम २ सय ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरी यस कार्यालयमा ल्याई उनीहरुमाथि लागूऔषध कारोबारको मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।