बारा, वैशाख ५ :अवैध लागूऔषध गाँजाको कारोबार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहट कटहरीया नगरपालिका वडा नम्बर–१ का २१ वर्षीय राम बाबु यादव, ४२ वर्षीय नागेन्द्र यादव र २१ वर्षीय करण यादव रहेका छन् । उनीहरु ना ३९ प २८६५ र भे २ प ४८४२ नम्बरको मोटरसाईकलमा सवार थिए ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा निजगढ नगरपालिका वडा न ८ फाष्ट ट्रयाक स्थितमा मोटरसाइकल रोकी निजहरूको खानतलासी गर्दा अवैध लागु औषध गाँजा १२ किलो ग्राम र नेपाली रुपैयाँ ४५ हजार बरामद गरिएको थियो ।
पक्राउ परेका तीनैजनालाई लागूऔषध मुद्दामा बारा जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरिएको छ ।

साथै ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलीले बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–८ रमौलीस्थित सडकमा पैदल हिड्दै गरेको एक जनालाई पनि पक्राउ गरेको छ ।
सोही स्थानका ५५ वर्षीय सत्यनरायण रामलाई शंका लागि चेकजाँच गर्दा प्लाष्टिकको झोलामा राखी लुकाई छिपाई ल्याएको अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्राम फेला पारी पक्राउ गरेका प्रहरीले जनाए ।
उनलाई पनि लागूऔषध मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको बुझिएको छ ।