सुनसरी, माघ ४ : अवैध रूपमा खोला उत्खनन गर्ने क्रममा धरान ५ नम्बर वडाध्यक्षको जेसिबी पक्राउ परेको छ । धरान–५ स्थित अँधेरी खोलाबाट ढुङ्गा गिट्टी निकाल्दै गरेको अवस्थामा वडाध्यक्ष सन्तोष लिम्बूको को १ क २४३४ नम्बरको जेसिबी पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय धरानले विशेष सूचनाको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको जेसिबीलाई कारबाहीको लागि प्रहरीले वन कार्यालय धरान तीनकुनेलाई जिम्मा लगाइसकेकाे इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
जेसिबीका चालक र टिप्पर भने भागेको डिएसपी तिम्सिनाले जानकारी दिए । उक्त खोलाबाट वर्षेनी ट्याक्टरलगायतका सामग्री पक्राउ पर्ने गरेका छन् । प्रतिबन्धित क्षेत्रबाट उत्खनन हुने गरेको भन्दै स्थानीयले गुनासो गरेका थिए । उक्त गुनासोका आधारमा वडाध्यक्ष लिम्बूलाई प्रहरी कार्यालयमै बोलाएर उत्खनन नर्गनका लागि सुझाव दिएको समेत तिम्सिनाले बताए ।