कास्की, पुस ३ : भारतबाट आयात गरी पोखराको विभिन्न स्थानमा अवैध रुपमा लागूऔषध कारोबार गर्ने भारतकाे मोतिहारी घर भई हाल कास्की पोखरा महानगरपालिका वडा नम्बर ८ सुन्दर मार्ग वस्ने वर्ष ३० को सन्दिप साहलाई प्रहरीले पक्राउ गरेको छ ।
प्राप्त समाचार अनुसार साहले अवैध लागुऔषध नर्फिन नाइट्रोभ्याट समेत खरिद गरी ल्याई पोखरा नगर क्षेत्रका विभिन्न स्थानमा विक्रि वितरण तथा ओसार पसार सेवन सञ्चय गर्ने गरेको लागूऔषध नियन्त्रण ब्यूरोलाई विशेष सुचनाको आधारमा उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक टेक बहादुर रावत बताए ।
प्रहरी टोलीले खोजतलास गर्दै जादा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटन स्थित सडक छेउमा सन्दिप शाहले चलाएको बा १८ च ६७८५ नम्बरको सेतो रंगको मारूती सुजुकी गाडीको चालक बस्ने सिट मुनी सेतो प्लाष्टिक भित्र लुकाई छिपाई राखेको अवस्थामा फेला परेको थियो।
अवैध लागूऔषध नर्फिन इन्जेक्सन २ एमएलको ५० एम्पुल, डाईजापाम ईन्जेक्सन २ एमएलको ५० एम्पुल, फनेरागन ईन्जेक्सन २ एमएलको ५० एमपुल बरामद गरिएको छ । उनको साथमा रहेको नगद ५०,०००् रुपैंया र उनले प्रयोग गर्ने सामसुङ मोवाईल १ थान, नोकिया मोवाईल १ थान र बा १८च ६७८५ नम्बरको सेतो मारुती सुजुकी गाडि समेत पक्राउ गरेको छ ।
उनलाई सोधपुछ गर्ने क्रममा थप लागुऔषध आफू वस्ने कोठामा लुकाई छिपाई राखेको छु भनि जानकारी दिए पश्चात् तत्काल उ वस्ने कोठा पोखरा महानगरपालिका वडा नम्बर ८ सुन्दर मार्गमा गई कोठामा चेकजाँच गर्दा २ हजार ९ सय ७० चक्की नाईट्रोभ्याट, नर्फिन इन्जेक्सन २ एमएलको ४ सय४९ एम्पुल, डाईजापाम ईन्जेक्सन २ एमएलको ४ सय ४६ एम्पुल, फनेरागन ईन्जेक्सन २ एमएलको ४ सय ३२ एमपुल, बरामद गरेको ब्यूरोले जानकारी दिए ।
कारोबारी सन्दीप शाहलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाईएको ब्यूरोले बताए।