अवैध भिओआइपी कल बाइपासमा संलग्‍न १३४ जना पक्राउ, ११ अर्ब ९१ करोड विगो दाबी

रिपोर्ट नेपाल | 2018 Jul 28 | 04:05 pm 2317

काठमाडौं, साउन १२: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अवैध भिओआइपी कल बाइपासमा संलग्‍न एक नागरिकलाई पक्राउ गरेको छ। ब्यूरोले नियमित रुपमा सञ्‍चालन गरेको अपरेशन भाइस फोर्स अन्तर्गत खटिएको टोलीले विहीबार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ७ झुलेनीपुर स्थित भानुकक्त न्यौपानेको घरमा अवैध रुपमा सञ्‍चालन भइरहेको भिओआइपी कल बाइपासमा संलग्‍न राम प्रसाद न्यौपानेलाई पक्राउ गरेको हो। पक्राउ परेका उनलाई दूरसंचार ऐन २०५३ अन्तर्गत जिल्ला अदालत रुपन्देहीबाट म्याद लिइ अनुसन्धान जारी रहेको सिआर्इबीले जानकारी दिएको छ।

पक्राउ परेका न्यौपानेबाट ६४ पोर्टको भिओआइपी गेटवे भएको एक थान सिम बक्स, टिपिलिंकको राउटर एक थान, एक थान ल्याप्टप, एक थान नोकिया मोबाइल, सामसुङ मोबाइल एक थान, १७ थान एनटिसीको सिमकार्ड, स्मार्ट सेलको सिमकार्ड १९ थान, मोडर्न २ थान, मल्टिप्लग एक थान, भिओआइपी एन्टेना १६ थान, एनसेलेको ५० को रिचार्ज ७ थान, एनटिसिको प्रयोग नभएको १०० को रिचार्ज १५ थान र एनटिसिको ५० को रिचार्ज ५ थान बरामद गरिएको जनाएको छ।

सिआइबीका अनुसार मुख्य अभियुक्त पाकिस्तानी नागरिक सोयव खान र मुनिर विकास रहेका छन्। न्यौपानेले फेसबुकका माध्यमबाट सोयव र मुनिर विकाससँग चिनजान गरी यस्तो धन्दा गर्दै आएका थिए। तीन महिना अघि भिओआइपी कल बाइपास सञ्चालनका लागि सोयवले हङकङबाट डिएचएल मार्फत भिओआइपी सञ्चालन गर्ने उपकरणहरु एमप्लिफायर बाकसमा हाली न्यौपानेलाई पठाएको अनुसन्धानका क्रममा खुलेको छ। पाकिस्तानको कराँचीमा रहेका सोयबले उतैबाट सिस्टमको जानकारी लिने गर्थे । मुनिर विकास भन्ने व्यक्ति भने हाल टर्कीमा रहेको पाइएको छ ।

सिआइबीले हालसम्म १०६ स्थानमा कारबाही गरिसकेको छ। हालसम्म नेपाली १३० र विदेशी ३४ जना नागरिक पक्राउ परेका छन्। पक्राउ परेकाहरु विरुद्ध सिआइबीले ११ अर्ब ९१ करोड एक लाख १६ हजार १ सय ६३ रुपैयाँ ६५ पैसा विगो दाबी गरी अदालतमा मुद्दा चलाएको छ। सिआइबीका अनुसार हालसम्म विभिन्न दूरसंचार कम्पनीहरुका २३०३२ थान सिम बराम द गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.