अवैध भारतीय नोटसहित चार पक्राउ

रिपोर्ट नेपाल | 2018 Jul 18 | 07:30 pm 2217

बुटवल, साउन २ : प्रहरीले अवैध भारतीय नोटसहित चार व्यक्तिलाई भैरहवाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवास्थित एक होटेलमा भारतीय नोटको अवैध कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा होटेलबाट सोमबार समातेका उनीहरूलाई आज सार्वजनिक गरिएको हो ।

प्रहरीले सिद्धार्थनगर नगरपालिका–१३ स्थित ह्वाइट लोटस होटेलको कोठा नं १०७ मा खानतलासी गर्दा अवैध नोटको कारोबारीसहित झोलामा एक हजार दरका दुई हजार ६५० थान र ५०० दरका पाँच हजार ३०० थान गरी ५३ लाख पुरानो भारतीय रुपैयाँ बरामद गरेको प्रहरी नायब उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

प्रहरीका अनुसार अवैध भारतीय रुपैयाँको कारोबारमा संलग्न रुपन्देही जिल्ला रोहिणी गाउँपालिका–५ बस्ने ५४ वर्षीय दूधनाथ योगी, सिद्धार्थनगर नगरपालिका–२ बस्ने ३७ वर्षीय गणेश थापा, बुटवल उपमहानगरपालिका–१६ बस्ने ४२ वर्षीय हेमराज कठरिया र सिद्धार्थनगर नगरपालिका–८ बस्ने ३८ वर्षीय राजु बुढाथोकी पक्राउ परेका छन् ।

बरामद भारतीय रुपैयाँ र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.