अवैध कार्य गरेको आरोपमा होटल सञ्चालक पक्राउ

रिपोर्ट नेपाल | 2019 Mar 21 | 11:51 am 2497

सिरहा, चैत ७ :  मिर्चैयास्थित एक होटल सञ्चालकलाई होटलभित्र अवैधरूपमा अश्लील कार्य सञ्चालन गरेको आरोपमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।

होटलभित्र अवैध यौनजन्य क्रियाकलाप सञ्चालन गरेको भन्दै प्रहरीले राहुल होटलका सञ्चालक सञ्जय ठाकुर र ललिता ठाकुर शर्मालाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाएको छ ।

अवैधरूपमा युवती राखेर यौन क्रियाकलाप गराइरहेको स्थानीयवासीको गुनासोपश्चात सञ्चालकलाई पक्राउ गरी मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक दिनेश गौतमले जानकारी दिए ।

गत सोमबार राति काठमाडौँबाट आएका दुई युवक उक्त होटलमा कोठा भाडा लिएर बास बसेको र बिहान पैसा तीर्ने विषयमा होटल सञ्चालक र युवाबीच झगडा भएको थियो । त्यही क्रममा एक युवक होटलको तेस्रो तलाबाट स्थानीय शम्भु साहको घरको छतमा हामफालेपछि युवकको खुट्टा भाँच्चिएपश्चात यस्तो रहस्य बाहिर आएको स्थानीयवासीले बताएका छन् ।

होटल सञ्चालक सञ्जय ठाकुर र ललिताविरुद्ध सार्वजनिक मुद्दा दायर गरी थप आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गौतमले बताए । यसअघि पनि ती होटल सञ्चालकमाथि मुद्दा चलाइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.