अविरल वर्षाको कारण बाढी तथा डुवानमा परेकाहरुको सशस्त्र प्रहरीद्वारा उद्वार

| 2021 Jun 16 | 09:36 pm 2861

काठमाडौं, असार हालै परेको अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी पहिरो तथा
डुवानमा परेकाहरुको सशस्त्र प्रहरीले उद्वार गरेको छ ।

दाङ्ग जिल्लाको लमही नगरपालिका ७ हसनापुरस्थित राप्ती नदिको दोभानमा अलपत्र परेका ४ जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।

गोठाला गएका उनीहरु सो नदिको बीच भागमा अलपत्र परेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गण दाङ्गबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुलाई सकुशल उद्वार गरेको हो ।

यसैगरी म्याग्दी जिल्लाको बेनी नगरपालिका ९ स्थित काउले गौडामा अविरल वर्षाको कारण जोखिममा परेका ४ वटा घरहरुबाट विभिन्न सामान सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।

सो ठाउँ बस्ने लाल पुरी, प्रकाश बस्नेत, नारायण बस्नेत र बेल बहादुर बस्नेतको घर जोखिम अवस्थामा रहेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म म्याग्दीबाट खटिएको सशस्त्र प्रहरी सो उद्वार कार्यमा खटिएको हो ।

यसैगरी चितवन जिल्लाको भरतपुर महानगरपालिका २६ स्थित सिसाईमा अविरल वर्षाको कारण डुवानमा परेका तीनवटा घरहरुबाट विभिन्न सामान सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।

सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट खटिएको सशस्त्र प्रहरी उक्त उद्वार कार्यमा सकृयताकासाथ जुटेको हो ।

लागूऔषधसहित दुई जना पक्राउ
झापा जिल्लाको दमक नगरपालिका ३ बाट सशस्त्र प्रहरीले जेठ २ गते १ ग्राम ४२ मिलिग्राम ब्राउन सुगर र करीव दुई ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भुटानी शरणार्थी शिविरमा बस्ने ३५ वर्षीय पूर्णबहादुर राई र निजको श्रीमती २२ वर्षीया अन्जली गुरुङ्ग रहेकी छिन् ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बेलडाँगीबाट विशेष सुचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले उनीहरुलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल
प्रहरीलाई बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.